काठमाडौँ : प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ।
शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ। दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ। पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ।
यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ। जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो।
गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने बताईन्छ।
शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ। कोरोना भाइरस (कोभिड १९) को जोखिम पूर्णरूपमा अन्त्य नभइसकेकाले सातु र सर्वतले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ।
‘वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरेपनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ’, उनले भने।
आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ। आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ। यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ।
सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ। यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ। त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ। यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो।
अक्षय तृतीयामा सूर्य र चन्द्रमा दुबै ग्रह उच्च राशिमा हुने हुदा ज्योतिषीहरु पनि यो राम्रो दिन हो भनेर भन्छन्। गर्भधारणा गर्न देखि अन्य महत्वपूर्ण कार्यहरूको पनि शुरूवात गर्नका लागि आजको दिन विशेष उपयुक्त छ।
बैशाख महिनाको शुक्ल पक्षको तृतीयालाई अक्षय तृतीया भनिन्छ। शुभ कार्य र किनमेल गर्नका लागि यो दिन निकै शुभ मानिन्छ। यो वर्ष अक्षय तृतीया बैशाख २१ गते मङ्गलबार परेको छ। यस दिन मानिसहरु व्यापार, गृह प्रवेश, नयाँ घरगाडी खरिद, सुन-चाँदीका गरगहना खरिद जस्ता काम गर्दछन् ताकि वर्षभरी जीवनमा सुख-समृद्धि रहोस्। अक्षय तृतीयाको दिन केही उपाय अपनाएमा लक्ष्मी माताको कृपा पाउन सकिन्छ।
अक्षय तृतीयाको दिन अपनाउनुहोस् यी उपाय : –
अक्षय तृतीयाको दिन भगवान विष्णु र माता लक्ष्मीको सँगै पूजा-अर्चना गर्नुहोस्। यसो गर्नाले दुवै प्रसन्न भई जीवनमा धेरै सुख र समृद्धि ल्याउनेछन्। पूजामा केसर र बेसार चढाउनुहोस्।
अक्षय तृतीयाको केही न केही अवश्य खरिद गर्नुहोस्। सुन-चाँदी नै खरिद गर्नुपर्छ भन्ने जरुरी छैन, तपाईले माटोको भाँडो पनि किन्न सक्नुहुन्छ।
धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्नको लागि अक्षय तृतीयाको दिन ११ वटा कौडालाई रातो कपडामा बाँधी पूजाकोठामा राख्नुहोस्। त्यसपछि भोलिपल्ट त्यसलाई पैसा राख्ने ठाउँमा राख्नुहोस्।
अक्षय तृतीयाको दिन गरिएको दानको दुईगुणा बढी फल प्राप्त हुन्छ। यस दिन पङ्खा, खराउ, सात्तु, खरबूजा, घिरौला जस्ता मौसमी फल, सख्खर, घ्यु, जल या सर्बतले भरिएको घडा दान गर्नुहोस्।
अक्षय तृतीयाको दिन घरको पूजा स्थलमा एक नरिवल राख्नुहोस्। छिट्टै लक्ष्मीको कृपा हुनेछ।
यदि कुनै गरिब कन्याको विवाह हुँदैछ भने आफ्नो सामर्थ्य अनुसार उपहार दिनुहोस्। सम्भव भएसम्म कन्यादान दिनुहोस्।