काठमाडौँ : वैशाख कृष्ण औँसीका दिन शनिबार स्वदेश तथा विदेशमा रहेका सनातन धर्मावलम्बीले स्वास्थ्य अनुकूलको परिकार तथा सक्नेले आभूषण र वस्त्र प्रदान गरेर आमाको मुख हेर्दैछन्। मातातीर्थ औँसी पनि भनेर चिनिने यो पर्वमा विशेष गरी आमाको श्रद्धा र सम्मान गरिन्छ। भौतिक उपस्थिति गर्न सक्नेले आमाको समीपमा रहेर र नहुनेले विद्युतीय सामाजिक सञ्जालमार्फत पनि आमाप्रति स्नेहभाव व्यक्त गर्ने चलन अहिले छ।
‘सयौँका लाख, आमाको एक काख’ भन्ने लोकोक्तिले आमाप्रतिको महिमाको वर्णन गर्दै आएको छ। आमा नहुनेले पशुपति आर्यघाटपारि बागमती तटमा रहेको आमाको प्रतिमा र मातातीर्थस्थित कुण्डमा स्नान गरेर पण्डित पुरोहितलाई सिदा दान वा श्राद्धसमेत गर्ने प्रचलन छ।
ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार शनिबार दिनभर नै औँसी परेकाले दिनभर यो पर्व मनाउन सकिन्छ। चाँदीका गर-गहना, भाँडाकुँडा आमाप्रति दान गर्दा उत्तम हुने ज्योतिषीय योग यसपल्ट परेको उहाँ बताउनुहुन्छ ।
यो दिन सूर्य ग्रहणसमेत परेकाले यसको प्रभाव दक्षिण अमेरिकातर्फमात्र रहने हुँदा यहाँ यसको कुनै असर नहुने सिटौला बताउनुहुन्छ। ज्योतिषीय गणनाअनुसार शनिबार बिहान सूर्याेदयदेखि राति १ः३४ मिनेटसम्म औँसी परेको हुँदा यो समयमा आमाको अनुहार हेर्नु उपयुक्त हुन्छ।
अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलका अनुसार आर्यघाट तटमा रहेकी आमाको प्रतिमा दर्शनका लागि कचहरीले आवश्यक व्यवस् थापन गरेको छ। जन्मदिने आमाबाहेक धर्मपुत्र राखेका र अनाथ आश्रममा रहेकालेपनि आश्रममा खानपान, स्याहार सम्भार गर्नेलाई आमा मानेर श्रद्धा गर्ने चलन छ।