अक्षय तृतीयाको दिन ५० वर्षपछि ग्रहहरुका महासंयोग : थाहा पाईराख्नुस् तिथि, शुभ मुहूर्त र महत्व

काठमाडौँ : हिन्दू धर्ममा अक्षय तृतीया पर्वको विशेष महत्व रहेको छ। बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई धर्मशास्त्रहरूमा अक्षय तृतीया भनिएको छ। ज्योतिषशास्त्र अनुसार यस दिन सूर्य र चन्द्रमा ग्रह उच्च राशिमा हुने गर्दछ। त्यसैले यो दिनलाई निकै शुभ मानिन्छ। साथै यस दिन कुनै पनि शुभ काम मुहूर्त नहेरी नै गर्न सकिन्छ। यस वर्ष पावन पर्व अक्षय तृतीया बैशाख २० गते मङ्गलबारको दिन परेको छ। यो विशेष अवसरमा सुन किन्ने परम्परा रहँदै आएको छ। साथै शास्त्र अनुसार भगवान परशुरामको जन्म पनि यसै दिन भएको थियो।

यसैगरी अक्षय तृतीयाको दिनमा ग्रह र योगको विशेष संयोग हुने भएको छ। वैदिक पञ्चाङ्ग अनुसार अक्षय तृतीया यस पटक मंगल रोहिणी नक्षत्रको शोभन योगमा मनाइनेछ। शुभ योगमा अक्षय तृतीया मनाउने यो संयोग ३० वर्षपछि बनेको हो। यससँगै ५० वर्षपछि ग्रहहरूको विशेष अवस्था पनि सिर्जना हुँदैछ। ग्रहहरुका महासंयोग र अक्षय तृतीयाको महत्त्व…

करिब ५० वर्षपछि बैशाख शुक्ल तृतीयाका दिन दुई ग्रह चन्द्रमा र शुक्र उच्च राशिमा हुनेछन् जबकि दुई प्रमुख ग्रह शनि र बृहस्पति स्वराशिमा हुनेछन्। शुभ संयोग र ग्रहहरुका विशेष स्थितिमा अक्षय तृतीयाको दिन दान गर्दा अपार पुण्य प्राप्त हुनेछ। साथै यस दिन मुहूर्त ननिकाली कुनै पनि प्रकारका माङ्गलिक कार्य गर्न सकिन्छ।

वैशाख शुक्ल तृतीयाका दिन स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइन्छ। यस दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा यस दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ ।

शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ । यस दिन माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राहृमणलाई दान गरिन्छ । यस्तो घडामा ब्रहृमा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ ।

यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौं अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले यस दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राहृमणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । यस दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने विश्वाससमेत छ । यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूर्य यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको छ।

सर्वत र सातु दान गर्नेले यो लोकमा सुख र परलोकमा सदगति पाउने धार्मिक विश्वास छ । यसरी दान गर्नेका पितृ पनि प्रसन्न हुने वैदिक ग्रन्थमा व्याख्या गरिएको छ । समुद्रमा पानी सकिए पनि यस दिन दान गर्ने पुण्य सकिदैन्। भविष्य पुराणमा पनि यस दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९१९:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जीवनमा नसोचेको सफलता प्राप्त गर्न चाहनुहुन्छ भने यी ४ कुरामा ध्यान दिनुस्