बलिउड अभिनेता सलमान खानका लागि राजस्थान उच्च अदालतबाट राहतको खबर आएको छ । उच्च अदालतले सलमान खानले दायर गरेको ट्रान्स-फर याचिकालाई स्वीकार गरेको छ । यसपछि अब उच्च अदालतमा सबै मुद्दाको सुनुवाइ एक साथ हुनेछ । हाईकोर्टको यो फैसलापछि सलमान खानलाई बारम्बार अदालतमा हाजिर हुनुपर्ने छैन ।
सलमान खानका वकिलले सोमबार उच्च अदालतमा आफ्नो पूर्ण पक्ष प्रस्तुत गरेका थिए । त्यसपछि अदालतले आफ्नो फैसला सुनाएको हो । यस सुनुवाइका क्रममा सलमान खानकी बहिनी अलविरा अदालतमा उपस्थित थिइन् । वास्तवमा यो सम्पूर्ण विषय कालो हरिणको अवैध शिकारसँग सम्बन्धित छ ।
सलमान खान सन् १९९८ सेप्टेम्बरमा राजस्थानको जोधपुरमा फिल्म ‘हम साथ साथ हैं’ को सुटिङ गरिरहेका थिए । यस अवधिमा उनी फिल्मका सहायक कलाकार सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु र नीलमसँग शिकार गर्न गएका थिए। उनले त्यहाँ संरक्षित कालो हरिणको शिकार गरेको आरोप लागेको थियो ।
सलमानलाई शिकारका लागि उक्साएको आरोप उनिसँग गएका अन्य कलाकारमाथि आरोप लागेको थियो । त्यसपछि सलमान खान पक्राउ परेका थिए । यस मुद्दामा सलमान खान बाहेक अन्य सबै अभियुक्तलाई अदालतले सफाइ दिएको थियो ।
कनकनी गाउँको बाहिरी इलाकामा दुई कालो हरिणको शिकार गरेको मामिलामा ट्रायल कोर्टले सलमान खानलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो। यस मामिलामा सलमान खान पनि पक्राउ परेका थिए । हाल अभिनेता जमानतमा छन् ।