आफूले जन्माएको सन्तान संस्कारी र असल होस् भन्ने सबै अभिभावकको चाहना हुन्छ, साथै यसका लागि उनीहरू धेरै प्रयास गर्छन्। हिन्दु धर्ममा सन्तान सुख पनि केही खास दिनसँग जोडिएको छ। यसमा पुत्रदा एकादशीको धेरै महत्त्व छ । प्रत्येक महिनामा दुई पटक एकादशी परे पनि पौष महिनाको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ । यो वर्ष आज अर्थात् पुष २९ गते मनाइँदैछ ।
सन्तान नभएका हरुलाई पनि पुत्रदाएकादाशीको व्रत निकै महत्त्वपूर्ण रहेको छ । यस दिन व्रत गर्नाले सन्तान प्राप्तीको मनोकामना पूरा हुने मान्यता रहेको छ । साथै भएका सन्तान पनि संस्कारी, आज्ञाकारी हुने मान्यता रहेको छ । त्यसैले पुत्रदा एकदाशीको दिन हरेक आमाले व्रत राख्नु निकै शुभ मानिन्छ ।
व्रत बस्न नसकेमा पनि यस दिन विधि अनुसार भगवान विष्णु र लक्ष्मीको पूजा गरी सन्तानसम्बन्धी मनोकामना पूरा होस् भनी प्रार्थना गर्नुहोस् । यस्तो गर्नाले भगवान प्रसन्न भएर मनोकामना पुरा गर्ने मान्यता रहेको छ ।
शुभ सहित र पूजा विधि
पुत्रदा एकादशी तिथि पुष २८ (बुधवार) दिउँसो ५:०६ बजेदेखि शुरु भई आज २९ पुष (बिहीबार) बेलुकी ७ः४७ बजेसम्म रहनेछ । साथै यो व्रत भोलि अर्थात् पुष ३० गते तोडिनेछ । पारणाको समय शुक्रबार बिहान ०७:२० देखि ९:३६ सम्म हुनेछ।
यस व्रत राख्नको लागि बिहान सूर्योदय हुनु भन्दा पहिले स्नान गरेर घरको मन्दिरमा दीप प्रज्वलन गरी व्रतको संकल्प लिनु पर्दछ । त्यसपछि भगवान विष्णुलाई गंगा जलले अभिषेक गर्नुहोस्। विष्णुको मन्दिर तथा मूर्तिमा फूल र तुलसी अर्पण गर्नुहोस् । भगवानको आरती गर्नुहोस् र उहाँलाई सात्विक भोजन चढाउनुहोस्। भगवान विष्णुको साथमा लक्ष्मीको पूजा गर्नुहोस् र सुख र समृद्धिको लागि प्रार्थना गर्नुहोस्।