मेष (चु चे चो ला लि लु ले लो अ)
समस्या धेरै नै आउनेछन् तर त्यसलाई समाधान गर्न सक्ने क्षमता तपाईंमा विद्यमान छ । मित्रको सहयोगले पनि धेरै काम बन्ला । व्यापार, व्यवसायमा त्यति ठूलो फाइदा देखिँदैन । साताको मध्य भागतिर स्वास्थ्यसम्बन्धी समस्या परेर दिक्दारी हुनेछ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
साता राम्रो खालको छ । सुरुमा नै इष्टमित्रसँग भेट हुनुका साथै भोजभतेरसमेत पर्ला तर नातेदारबाट विशेष उपलब्धि भने पाउन सक्नुहुने छैन । व्यापारसम्बन्धी काममा निकै बाधा आउनेछन् । आर्थिक स्थिति पूरा सबल देखिन्न । हाललाई देवीको सेवा गर्नु आवश्यक छ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
शुक्रबारको दिनमा आफ्नो एवं परिवारको स्वास्थ्यमा गडबडी भएर विशेष खर्च हुन पनि सक्छ । शनिबारदेखिका दिनहरू सप्रिएका देखिन्छन् । खास ठूलो उपलब्धि भने पाउन सक्नुहुने छैन । वाणीमा ओज छ र वक्तृत्वकलाबाट ठूलै फाइदा उठाउन सक्नुहुनेछ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
अलिकति खर्च बढे पनि सातालाई नराम्रो भन्न मिल्दैन । मित्रबाट त्यति ठूलो फाइदा लिन सक्नुहुन्न । आफ्नै प्रतिभा र परिश्रमले काम बन्ला । पढाइमा अलिकति गति आउन थालेको छ । नारायणको दर्शन गरिरहनुहोस् । व्यापारमा समेत फाइदा हुनसक्छ ।
सिंह (मा मि मु मे मो टा टी टू टे)
घटेको प्रतिष्ठामा सुधार आउन सक्छ तर खर्च भने घट्लाजस्तो छैन । जताबाट भए पनि खर्चै गर्नुपर्ने परिबन्द पर्नाले मनमा खिन्नता होला । व्यापार, व्यवसायबाट सामान्य मात्र लाभ लिन सक्नुहुनेछ । हाललाई तपाईंका लागि टेवा दिने पक्ष जागिर नै हो ।
कन्या (टो पा पी पू ष ण ठ पे पो)
बोल्दा अति नै संयमित हुनुहोस् । मित्र घट्ने र विपक्षी बढ्ने समय छ । आर्थिक स्थिति भने त्यति नराम्रो देखिँदैन । शुक्रबारको दिनमा स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ । जागिरबाट सामान्य टेवा मात्र मिल्ला । पीपलमा हरेक दिन जल हालिरहनुहोस् ।
तुला (र रि रु रे रो ता ति तु ते)
शुक्रबारको दिन त्यति राम्रो छैन, त्यसैले ठूलो रकमको लेनदेन नगर्नुहोस् । शनिबारदेखि क्रमिक रूपमा सुधार हुँदै आउला । उत्साहमा अलिकति पनि कमी छैन । व्यापारसम्बन्धी कामले विशेष फाइदा दिनेछ । प्राविधिक खाले काम तपाईंका लागि लाभप्रद छन् ।
वृश्चिक (तो ना नि नू ने नो या यि यू)
मध्यम खाले समय छ । मनमा डर लागिरहला । बेकारको काममा पनि हिँड्नु पर्ला जस्तो छ । मद्दत गर्नेभन्दा रिस गर्नेहरू बढी छन् । गणेशको दर्शन नगरीकन तिनीहरूबाट मुक्ति पाउन सक्नुहुने छैन । जागिरतिर भने हाल नराम्रो समय छैन ।
धनु (ये यो भा भी भू ध फा ढा भे)
मनमा शङ्का र भय भइरहला । त्यसैले कुनै पनि काम ठोस रूपमा गर्न सक्नुहुने छैन । परिवारबाट पाएको सहयोगले मात्र निकै काम गर्ला । मित्र असल खालका छन् र मद्दत नै दिनेछन् । पढाइमा बढी समय जाला भने लेखाइमा कम मात्र ।
मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)
यात्राको सम्भावना टड्कारो रूपमा देखा पर्छ । प्रेम वा विवाहमा पनि हालको समय प्रगतितिर उन्मुख छ । स्वास्थ्यको स्थिति मध्यम खालको रहला । पढाइमा गरिएको लगानी खेर जाने छैन । नोकरीतिर अनिश्चयकै स्थिति रहला ।
कुम्भ (गू गे गो सा सी सु से सो दा)
समय राम्रो आएको छ । बौद्धिक स्थिति परिमार्जित नै रहला । सुरुको दिनमा स्वास्थ्यसम्बन्धी सानोतिनो समस्या आउन सक्छ । त्यसैले शनिबारको दिन बिहानै शिवजीको दर्शन गर्नुहोस् । आइतबारदेखिका दिनहरू राम्रा छन् । अरूलाई प्रभावित पार्न सक्नुहुनेछ ।
मीन (दी दू थ झ ञ दे दो चा ची)
आइतबार र सोमबार स्वास्थ्यका लागि त्यति राम्रा देखिन्नन् । बाँकी दिन भने राम्रा खालका छन् । पढाइमा समय दिन खोजे पनि सकिने छैन । मित्रबाट ठूलो सहयोगको अपेक्षा नगर्नुहोस् । जागिरतिर हाल त्यति नराम्रो समय छैन । नारायणको दर्शन गरिरहनुहोस् ।
• ज्योतिषाचार्य दामोदरनाथ लोहनी