काठमाडौँ : विवाह गर्नको लागि शुभ मुहूर्त निकालिन्छ। शुभ मुहूर्तमा विवाह गर्नको लागि युवक र युवतीले लामो समयसम्म प्रतीक्षा पनि गर्नुपर्ने हुन्छ। तर हिन्दु धर्म-ज्योतिषमा केही दिन विवाहको लागि धेरै शुभ मानिन्छ। ती दिन बिना मुहूर्त पनि विवाह गरिन्छ, जस्तै : – अक्षय तृतीया र तुलसी विवाहको दिन। त्यस्तै धर्म-पुराणमा एक दिनलाई अत्यन्तै अशुभ मानिन्छ। त्यस दिन सम्पूर्ण ग्रहका स्थिति ठिक रहे पनि विवाह गर्न नहुने मान्यता छ। यसको पछाडी एक खास कारण छ।
मार्ग शुक्लपक्षको पञ्चमीलाई विवाह पञ्चमी पनि भनिन्छ। यस दिन विवाह गर्न अत्यन्तै अशुभ मानिन्छ। वास्तवमा विवाह पञ्चमीको दिन भगवान श्रीराम(Lord Ram) र माता सीता(Mata Seeta) को विवाह भएको थियो। त्रेता यूगमा मंसिर शुक्ल पञ्चमीको दिन आर्दश जोडी राम सिताको विवाह नेपालको जनकपुरमा भएको थियो। यो वर्ष मंसिर २२ गते(८ डिसेम्बर) मा विवाह पञ्चमी परेको छः।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंबरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । पौराणिक मान्यता अनुसार विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु पर्दैन्। तर माता सीताको वैवाहिक जीवन अत्यन्तै दुखद् रहेको कारण भारतको पूर्वी उत्तर प्रदेश, विहार, मिथिलाञ्चल र नेपालका धेरैजसोले यस दिन विवाह गर्दैनन्।
श्रीरामसँग विवाह गरेपछि माता सीता १४ वर्षसम्म वनवास बसिन्। त्यसपछि जब वनवास पूरा भयो तब अग्नि परीक्षा दिँदा पनि श्रीरामले गर्भवती सीतालाई परित्याग गरे। र उनले एक आश्रममा आफ्नो दुई पुत्रा लव र कुशलाई जन्म दिएकी थिईन्। माता सीताले आफ्नो जीवनमा झेलेका यस्ता दुखद् घटनाकै कारण धेरैजसो मान्छे आफ्नो छोरीको बिहे विवाह पञ्चमीको दिन गर्न चाहँदैनन्।