सरकारले पाँच वर्षअघि अर्थात् २०७८ सालमा जनगणना गर्यो । दुई करोड ९१ लख ६४ हजार ५७८ जनसंख्या रहेको विवरण सार्वजनिक गरियो । यो जनसंख्यामा अहिले थपघट भइसक्यो । किनकि कतिपयको मृत्यु भइसक्यो भने कतिपयले नेपाली नागरिकता नै त्यागेका छन् । गाउँदेखि शहरसम्म मृत्युदर बढ्दा जन्मदर भने घट्दो क्रममा छ ।
मुलुकको कानूनअनुसार २० वर्ष पूरा पुगेपछि मात्र विवाह गर्न पाइन्छ । बिहे गर्न २० वर्ष कट्नु पर्दा विदेशिन भने १८ वर्षमै सरकारले राहदानी दिने गरेको छ । अहिले देशका युवा १८ वर्ष पुग्नेबित्तिकै वैदेशिक रोजगारी तथा शिक्षाका निम्ति विदेशिने क्रम ह्वात्तै बढेको छ । विकसित मुलुक अमेरिका, अस्ट्रेलिया, क्यनाडा गएकाहरु फर्किदैँनन् ।
यहाँबाट शिक्षाका लागि भन्दै गएका उनीहरु केही वर्षमा उतै सेटल हुन्छन् । जन्मभूमिको नागरिकता त्यागेर ग्रिनकार्ड, पिआर लिन्छन् अनि यहाँ भएको सम्पत्तिसमेत बेचेर उतै लैजान्छन् । नेपाली नागरिकता त्याग्नेको क्रम वर्षेनी बढिरहेको छ । खाडी मुलुक तथा युरोपमा कामका निम्ति गएकाहरु तीनदेखि पाँच वर्षसम्म बस्छन् ।
विदेशमा रगतपसिना बगाएर धन कमाएर त उनीहरु नेपाल फर्किन्छन् । तर, बिहे गर्दा खोज्दा केटाले केटी र केटीले केटा पाउँदैनन् । खाडी देशबाट फर्किएकालाई मानिसहरुले हत्तपत्त आफ्नो छोराछोरी दिँदैनन् । उनीहरुमाथि अनेकौं शंका गर्छन् । यता, बिहे हुन नसक्दा वा काम नपाएपछि उनीहरु फेरि विदेश नै जान्छन् ।
कतिपय पहिला गएकै देश जान्छन् त कतिपय अन्य मुलुक । विदेशमा दशक बिताउँछन् । उनीहरुको बिहे गर्ने उमेर नै कट्छ । अर्कोतर्फ, धेरैलाई रोगले च्यापछ । त्यो पनि गम्भीर । रोग लागेपछि त झन् बिहे गर्न कोही नै पाइँदैनन् अनि उनीहरुको वंश नै नासिन्छ । विदेश गएर मानिसहरुले धनसम्पत्ति त कमाउँछन् तर आफ्नो वंश सिद्धाउँछन्, रोगको भारी बोकेर आउँछन् ।
विदेशमा कमाएको पैसा उनीहरुलाई उपचार गर्दागर्दै पनि पुग्दैन । यता, बिहे गरेर विदेश गएकाहरुको पनि घरपरिवार लथालिंग देखिन्छ । श्रीमान विदेश भएमा यता श्रीमती अर्कैसँग लाग्ने, श्रीमती उता भएमा श्रीमान यता अर्कैसँग सम्बन्ध राख्ने अथवा विदेशमै पनि अवैध सम्बन्धमा बस्ने । धेरै मानिसहरुको यसरी घरपरिवार बिग्रिएको छ ।
विदेश गएका धेरैजसोको विवाहको केही महिना हुन नपाउँदै डिभोर्स भएका घटना पनि थुप्रै छन् । नेपालीहरुले विदेश गएर धनसम्पत्ति त कमाए, देशको अर्थतन्त्रमा योगदान पुर्याए तर उनीहरुको पारिवारिक जीवन भने तहसनहस बनेको छ । यद्यपि, सरकारको भने यसतर्फ चासो पनि देखिँदैन । पहिलेपहिले विदेश जाने चलन थिएन ।
स्वदेशमै दुःख, सुख गरेर कमाइन्थ्यो । खाइन्थ्यो । अर्कोतर्फ, बिहे पनि छिट्टै गरिदिइन्थ्यो । १६ वर्ष पुग्न नपाउँदै आमाबुबाले आफ्ना छोराछोरीको बिहे गरिदिन्थे । बिहेको केही वर्षमा बालबच्चा हुन्थे । एउटै व्यक्तिको दश–१२ वटासम्म सन्तान हुन्थ्यो । यसो हुँदा कुनै सन्तान अकालमै बितेपनि उसको वंश नासिदैँन्थ्यो ।
ती सन्तानले देशभित्रै काम गरेर अर्थतन्त्रमा योगदान पुर्याउँन्थे । तर, पछिल्लो समय त बिहे नै नगर्ने चलन बढेको छ । अहिले त मानिसहरु बिहेलाई बोझका रुपमा हेर्छन् । बिहे गरेमा जीवन नै बर्बाद हुन्छ भन्ने मानसिकता बढ्दै गएको छ । शुरु बिहे गर्दैनन् । अनि बल्लतल्ल बिहे गरेपनि बच्चा जन्माइदैँन ।
बच्चा जन्माएमा पाल्न सकिँदैन, जिम्मेवारी बढ्छ भन्ने सोचाई मानिसहरुमा आएको छ । केही गरी बच्चा जन्माइहाले पनि एउटादेखि बढीमा दुईटा । ती सन्तानको पालनपोषणमा अभिभावकले भरपुर खर्च गर्छन् । एउटा मात्र सन्तान भएपछि उसले जे भन्छ, अभिभावकले त्यही गरिदिन्छन् ।
अनि धेरैजसोको सन्तान गलत बाटोमा हिँड्छन् त कतिपयको अकालमै विभिन्न कारणले मृत्यु हुन पुग्छ । र, उनीहरुको वंश नै नासिन्छ । अहिले त बिहे गर्ने बेला अभिभावकले आफ्नो छोराछोरीलाई विदेश पठाउने गरेका छन् भने सरकार उनीहरुलाई विदेश जाऊ भनेर राहदानी दिन्छ ।
यता, देशभित्रै सरकारी सेवा, राजनीति, व्यापार व्यवसाय वा विभिन्न काम गर्नेहरु पनि बिहे नै गर्दैनन् । गाउँ र शहर पूरै खाली भइसक्यो । पहिला गाउँ मात्र खाली थियो, अहिले त शहर पनि रित्तिएको छ । करोडौं नेपाली विदेशमा छन् । मुलुकमा नेपालीभन्दा पनि भारतीय र विदेशी बढी देखिन्छन् । तर, उनीहरु रमाउन होइन, कमाउन नेपाल छिरेका छन् ।
देशभित्र दक्ष जनशक्तिको अभाव हुँदा विदेशबाट मान्छे ल्याएर काम गराउनुपरेको छ । यता, भारतीयहरुको हरेक क्षेत्रमा सहभागिता देखिन्छन् । चटपट बेच्नेदेखि अन्य व्यापार व्यवसाय र बैंक, वित्तिय संस्थामा समेत भारतीयहरुको उपस्थिति बढ्दो क्रममा छ । नेपालीहरु कमाउनका निम्ति विदेश गइरहँदा भारतीयहरुले यहीबाट वार्षिक खर्बौ रेमिट्यान्स आफ्नो देश लगिरहेका छन् ।
अहिले दैनिक साढे दुई हजारदेखि तीन हजारसम्म युवाहरु विदेश पलायन भइरहेका छन् । वर्तमान सरकारमा केपी शर्मा ओली प्रधानमनत्री छन् । उनी विवाहित हुन् तर उनका एउटै सन्तान छैनन् । दशौं रोपनी जग्गामा भक्तपुरको बालकोटमा उनको दरबारजस्तो घर छ ।
तीन करोडको घडी हातमा बाँध्छन्, सात लाखको कोट अनि डेढ लाखको जुत्ता । दिनमै ७० हजारको विदेशी पानी त उनी पिउँछन् । काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि एउटै पुत्र छन् । उनको पनि दशौं रोपनी जग्गामा बनेको महलजसतै घर छ ।
आफूलाई त्यागी नेता देखाउन राजनीतिमा लागेका धेरैजसो बिहे नै गर्दैनन् । यसका उदाहरण हुन् काँग्रेस सांसद रामहरि खतिवडा । चुनावका बेला आफूले देश र जनतालाई नै आफ्नो जीवन समर्पण गरेको भन्दै भोट माग्छन् । अनि एउटा स्वास्नी पाल्न नसक्नेले देश कसरी बनाउन सक्छ ?
केही दिनअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका नेता–कार्यकर्ताले आफ्ना सन्तानलाई सरकारी विद्यालयमै पढाउनुपर्ने र शिक्षाका निम्ति विदेश पठाउन नमिल्ने बताए । यद्यपि, उनी देशमा युवा घटे, सन्तान बढाउनुपर्छ भनेर चाँहि बोलेनन् ।
त्यसो त प्रचण्डको हातमा ७८ लाखको घडी छ । चर्चामा आउन माओवादीका नेता–कार्यकर्ताले आफ्ना सन्तानलाई स्वदेशमै सरकारी स्कुलमा पढाउनुपर्ने भनेपनि उनले हरेकको सम्पत्ति छानबिन गर्छु भनेर चाँहि भनेन् । किनकि सम्पत्ति छानबिन गर्नेबित्तिकै शुरमा प्रचण्ड नै भ्रष्टाचारी ठहरिनेछन् ।
नेताहरु जनताको कर र रेमिट्यान्समा मोजमस्ती गर्ने । आफ्नो स्वार्थ परिपूर्तिका निम्ति देशै जोखिममा राखिदिने । अनि जनताका छोराछोरी चाँहि बिहे गर्ने बेला विदेश पलायन हुनुपर्ने । विदेश गएका कोही बाकसमा फर्किन्छन् त जीउँदै फर्किएकाहरुको बिहे नभएर वंश नासिन्छ । जनता साह्रै सोझा भए ।
राज्यको ढुकुटीमा जनताले जम्मा गरेको पैसाले मात्र नपुगी देशै धितो राखेर नेताहरुले मोजमस्ती गरिरहँदा जनता चुपचाप छन् । उल्टै आफ्ना छोराछोरीलाई कमाऊ, रेमिट्यान्स पठाऊ भनेर विदेश पठाइरहेका छन् । त्यो रेमिट्यान्समा पनि त यिनीहरुले नै मोजमस्ती गर्ने हो ।
रुषा थापा
भक्तपुर