काठमाडौं : सन् २०२५ मा आयोजना हुने आइसिसी टी–२० महिला विश्वकपको ग्लोबल छनोट चरण अब नेपालमा आयोजना हुने निश्चित भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार यो निर्णय सार्वजनिक गर्दै प्रतियोगिता सन् २०२५ को जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म नेपालमा गरिने जनाएको छ। ग्लोबल छनोटमा कुल १० टोलीको सहभागिता रहनेछ, जसलाई दुई समूहमा विभाजन गरिनेछ।
प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन्। त्यसपछि सुपर सिक्स चरणमा उत्कृष्ट चार स्थान हासिल गर्ने टोलीहरूले आगामी टी–२० महिला विश्वकपका लागि स्थान बनाउनेछन्। छनोट चरणको विस्तृत खेल तालिका भने आईसीसीले चाँडै सार्वजनिक गर्ने जनाएको छ।
विश्वकपको अन्तिम चरण इंग्ल्यान्ड र वेल्समा आयोजना हुनेछ।
नेपालले एसिया क्षेत्रीय छनोटमा शानदार प्रदर्शन गर्दै थाइल्यान्डसँगै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको हो। यस्तै, अमेरिकाले अमेरिका क्षेत्रीय छनोटबाट ग्लोबल छनोटमा स्थान बनाइसकेको छ। बाँकी पाँच स्थान अफ्रिका र युरोप क्षेत्रबाट दुई–दुई टोली तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक टोलीले पाउनेछन्।
पछिल्लो संस्करणको टी–२० महिला विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको थियो।