काठमाडौं : दरमखोला हाईड्रो इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्राथमिक सेयर(आइपिओ) बिक्री गरेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ सार्वजनिक गरेको छ।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृति अनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३९ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्ने अनुमति पाएको हो।
पहिलो चरणमा कम्पनीले आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख ९१ हजार १५० कित्ता शेयर वितरण गरिसकेको छ।
अब बाँकीमध्ये १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ भने ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीहरूलाई सुरक्षित गरिएको छ। बाँकी बचेको २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
सार्वजनिक निष्कासनमा सहभागिता जनाउन चाहनेले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने मिति साउन १५ गतेबाट सुरु भई साउन १९ गतेसम्म कायम रहनेछ।
यस आईपीओको निष्कासन तथा बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गरिरहेको छ।