सिँजा (जुम्ला) : जुम्लाको हिम गाउँपालिका–१ स्थित आचार्यलिही गाउँमा सालनालसहितको एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
स्थानीयवासी नन्दलाल आचार्यका अनुसार सोमबार साँझ करिब ६ बजे आचार्य लिही गाउँदेखि करिब सय मिटर टाढा रहेको जर्या खोलाबाट एक कुकुरले मृत शिशुलाई मुखमा च्यापेर खेत हुँदै गाउँतिर ल्याउँदै गरेको देखिएको थियो ।
“कुकुरको मुखबाट शिशुलाई छुटाएर भगाएपछि तत्काल प्रहरीलाई खबर गर्यौं,” उनले भने। इलाका प्रहरी चौकी नराकोटका वरिष्ठ हवलदार दीपक गुरुङका अनुसार घटनास्थल नराकोटको कार्यक्षेत्रमा नपरे पनि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा बड्की प्रहरी चौकीबाट टोली परिचालन गरिएको हो ।
प्रहरी टोली घटनास्थलमा पुगेपछि शिशु सालनालसहितको अवस्थामा फेला परेको थियो ।
पाँच महिनाको जस्तो देखिने शिशुको शवलाई राति करिब १० बजे प्रहरी चौकी नराकोटमा ल्याइएको गुरुङले जानकारी दिनुभयो ।
शवलाई मङ्गलबार बिहान पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याइएको छ ।
हिमा गाउँपालिका–१ का वडाध्यक्ष रतन शाहीका अनुसार कसैले शिशुलाई जन्म दिएपछि खोलामा फालेको हुन सक्ने आशङ्का गरिएको बताउनुभयो ।
शिशु फाल्ने व्यक्तिको पहिचान हुन नसकेको उनको भनाइ छ । ((यो समाचार गोरखापत्र राष्ट्रिय दैनिकमा नौरते नेपालीले लेखेका छन्। ))