बिरामी लिएर जाँदै गरेको एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकको मृत्यु, ५ घाइते

नवलपुर जिल्लाको देवचुली नगरपालिका–२ दुम्कौलीमा पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बुटवलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ जाँदै गरेको दिब्य एकेडेमी बोडिङ स्कुल केउरेनीको बा २० च ७२ नम्बरको स्कुल भ्यान एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली नगरपालिका–१ का ५२ वर्षीय कुलप्रसाद सुबेदी गम्भीर घाइते भएका थिए।

उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो।

घाइतेहरूमा एम्बुलेन्समा सवार रुपन्देहीको बुटवल गोलपार्ककी ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई र २५ वर्षीया स्नेहा परियार तथा भ्यानमा सवार देवचुली–१७ की १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्का रहेका छन्।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

एउटा एम्बुलेन्समा रहेका बिरामीहरूलाई अन्य एम्बुलेन्समार्फत चितवन पठाइएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित : सोमबार, जेठ २०, २०८२११:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज बढ्यो सुनचाँदीको भाउ