इण्डियन प्रिमियर लिग (IPL) 2025 को दोस्रो क्वालिफायरमा आज मुम्बई इण्डियन्स र पञ्जाब किंग्स आमनेसामने हुँदैछन्। यो महत्त्वपूर्ण खेल नेपाली समय अनुसार आज साँझ ७:४५ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ। विजेता टोलीले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
पञ्जाब किंग्सले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग चरणमा शीर्ष स्थान हासिल गरेको छ। पञ्जाबले १४ खेलमध्ये ९ मा जित निकालेका थिए। यद्यपि, पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएपछि फाइनल प्रवेशका लागि दोस्रो मौका पाएका छन्।
मुम्बई इण्डियन्सले भने इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएका छन्। पाँच पटकको च्याम्पियन मुम्बईले प्लेअफमा अनुभव र आत्मविश्वासका साथ मैदानमा उत्रने अपेक्षा गरिएको छ।
आईपीएल इतिहासमा मुम्बई इण्डियन्स र पञ्जाब किंग्सबीच ३२ पटक भिडन्त भएको छ। जसमा मुम्बईले १७ खेल जितेका छन् भने पञ्जाबले १५ खेलमा विजय हासिल गरेका छन्। दुवै टोलीबीचको प्रतिस्पर्धा सधैं रोमाञ्चक रहँदै आएको छ।
मुम्बई इण्डियन्सका लागि रोहित शर्मा, सूर्यकुमार यादव, र हार्दिक पाण्ड्या प्रमुख खेलाडी हुन्। सूर्यकुमार यादवले हालैको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सचिन तेन्दुलकरको कीर्तिमान तोडेका थिए।
पञ्जाब किंग्सका लागि कप्तान श्रेयस अय्यर, जोश इंगलिस, मार्कस स्टोइनिस, र अर्शदीप सिंह महत्वपूर्ण खेलाडी हुन्। विशेषगरी अर्शदीप सिंहको बलिङले मुम्बईका ब्याट्सम्यानहरूलाई चुनौती दिन सक्छ।
नरेन्द्र मोदी स्टेडियमको पिच उच्च स्कोरिङ खेलका लागि प्रसिद्ध छ, जहाँ पहिलो इनिङ्समा औसत स्कोर २१७ रन रहेको छ। मध्य ओभरमा स्पिनरहरूले प्रभाव पार्न सक्छन्। मौसम पूर्वानुमान अनुसार साँझमा ओस पर्ने सम्भावना छ, जसले दोस्रो ब्याटिङ गर्ने टोलीलाई लाभ दिन सक्छ।