आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

सरकारले  आइतबारका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा, वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं, ललितपुर, र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ ।

भोटो देखाउने जात्रा ललितपुरको जावलाखेलमा आयोजना गरिन्छ, जहाँ रातो मत्स्येन्द्रनाथको रथलाई तानेर ल्याइन्छ र भोटो देखाउने परम्परा पालना गरिन्छ। यस जात्रामा राष्ट्रप्रमुख, सरकार प्रमुख, र हजारौं श्रद्धालुहरूको उपस्थिति रहने गर्दछ ।

भोटो देखाउने जात्राको परम्परा करिब ८०० वर्ष पुरानो मानिन्छ। किम्बदन्ती अनुसार, एक किसानले नागराज कर्कोटककी रानीको आँखाको पीडा निको पारिदिएपछि पुरस्कारस्वरूप भोटो प्राप्त गरेका थिए।

तर, उक्त भोटो हराएपछि विवाद उत्पन्न भयो र अन्ततः भोटो मत्स्येन्द्रनाथको जिम्मा लगाइयो। त्यसपछि, प्रत्येक वर्ष भोटो देखाउने परम्परा सुरु भएको मानिन्छ ।

यस वर्षको भोटो जात्रापछि रातो मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर बाजागाजासहित बुङमती पुर्‍याइनेछ। परम्पराअनुसार, रातो मत्स्येन्द्रनाथलाई सूर्य दक्षिणायन हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ ।

सरकारको निर्णय अनुसार, जेठ १८ गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुनेछ। यस अवसरमा सरकारी कार्यालय, विद्यालय, बैंक, र अन्य सार्वजनिक संस्थानहरू बन्द रहनेछन्।

प्रकाशित : शुक्रबार, जेठ १७, २०८२१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१५ दिनअघि नै भित्रियो मनसुन, सरदरभन्दा बढी वर्षा हुने भएकोले सुरक्षित रहन आग्रह