यसपाली वर्षा फाप्यो नेपाललाई, महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा पुग्यो

काठमाडौँ : नेपालले आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्री चरणमा स्थान बनाएको छ।

शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङ दुवैले ५–५ अंक समान बनायो तर नेपालले बढी जित हात पारेको आधारमा अघि बढ्यो।

आईसीसीको खेलने सर्तअनुसार डबल राउण्ड रोबिनपछि एकभन्दा बढी टोलीले समान अंक जोड्दा सर्वाधिक जितको आधारमा स्थान निर्धारण गरिन्छ। नेपालले चार मध्ये दुई जित, एक हार र एक नतिजाविहीन खेल खेल्दै ५ अंक बनाएको थियो, भने हङकङले एउटा जित र तीन नतिजाविहीन खेलका बाबजुद ५ अंक जोड्न सफल भयो।

यदि हङकङले आफ्नो खेल जितेको भए उसैले ६ अंकसहित समूह विजेता भएर सुपर थ्रीमा स्थान बनाउने थियो, तर हङकङ एकै जितमा सीमित रह्यो।

नौ टोली सहभागी प्रतियोगितामा तीन समूहका शीर्ष तीन टोली सुपर थ्रीमा पुगेका छन्। सुपर थ्रीमा एकअर्कासँग प्रतिस्पर्धा गरी शीर्ष दुई टोलीले विश्वकप ग्लोबल छनोटमा प्रवेश गर्ने व्यवस्था छ।

अब नेपालले सुपर थ्रीमा बलियो टोली यूएई र थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि यु१९ विश्वकपको एसिया छनोटको खेल वर्षाका कारण बिथोलिएपछि अफगानिस्तानलाई फाइदा भएको थियो। वर्षाले खेल रद्द हुँदा अफगानिस्तान र नेपालले एक–एक अङ्क पाएको थियो र नेपाल रनरेटकै कारण विश्वकपमा स्थान बनाउनबाट बन्चित भएको थियो। यसपाली भने नेपाली टोलीलाई वर्षाको कारण फाईदा भएको छ।

प्रकाशित : शुक्रबार, जेठ ०३, २०८२१३:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :