काठमाडौँ : – आन्दोलनमा सहभागी हुन् काठमाडौँ आएर सम्पर्कविहिन भएकी एक शिक्षिका सकुशल फेला परेकी छिन्।
नेपाल शिक्षक महासंघको आह्वानमा २०८१ सालको चैत २० गतेबाट विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने मागसहित सुरु भएको आन्दोलनमा सहभागी हुन् सिन्धुपाल्चोक जिल्लाबाट काठमाडौँ आएकी शिक्षिका बैशाख १२ गतेदेखि बेपत्ता भएकी थिईन्।
श्रीमानको कुरालाई उद्दृत गर्दै स्थानीयवासीले बताएअनुसार शिक्षिका काठमाडौँमै सम्पर्कविहिन भएर बसेकी थिईन्। उनी आफैँ श्रीमानसँग सम्पर्कमा आएकी हुन्। अहिले परिवारसँग मेलमिलाप भएपछि शिक्षिकाको श्रीमान पनि छोराछोरी लिएर काठमाडौँमै बसाई सर्ने भएका छन्।
अर्कोतिर करङ्गगैरा आधारभुत विद्यालय प्रशासनले शिक्षिका प्रशासनको सम्पर्कमा नआएको बताएको छ। विद्यालय प्रशासनले शिक्षिकाबाट आधिकारिक जानकारी नआईसकेकोले १५ दिनको समय हेर्ने र त्यसपछि नियम बमोजिम विद्यालयमा हाल रिक्त पदको परिपुर्ति गरिने जानकारी दिएका छन। उनको श्रीमानले आफ्नी श्रीमती सम्पर्कमा आउनका लागि अनुरोध गर्दै आफ्नो फेसबुक वालमा राखेको पोस्ट समेत हटाईसकेका छन।
सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा न . ४ करङ्गगैरा निवासी शिक्षिका अनिता खड्का श्रेष्ठ विगत दुई हप्तादेखि सम्पर्कविहिन भएकी थिईन्। उनका परिवारले प्रहरीमा निवेदन दिई खोजी कार्य अगाडी बढाईएको थियो। साथै सामाजिक सञ्जालको माध्यमबाट पनि खोजीको प्रयास गरिएको थियो।
उनले विगत २ वर्षदेखि करङ्गगैरा आधारभुत विद्यालयमा प्रारम्भिक बालविकास(ईसिडी) मा अध्यापन गराउँदै आएकी थिईन्। उनी दुई सन्तानकी आमा हुन्।
विद्यालय श्रोतका अनुसार उनी अन्तिम पटक गत बैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आन्दोलनस्थल बानेश्वरमा शिक्षक साथीहरुसँग देखिएकी थिईन्।