काठमाडौँ : नबिल बैंकले २० वर्षदेखि निष्क्रिय अवस्थामा रहेका खाता पुनः सक्रिय गर्न खातावाहक र कानुनी हकवालालाई आगामी २०८२ असार १५ गतेभित्र सम्पर्क भएर खाता सक्रिय वा कानुनी दाबी गर्न अनुरोध गरेको छ।
बैंक एउटा सूचना जारी गर्दै भन्छ, “यस नबिल बैंक लिमिटेड (पूर्व: नेपाल–बंगलादेश बैंक लिमिटेड तथा युनाइटेड फाइनान्स लिमिटेड) मा खाता खोलिएको र विगत २० वर्षदेखि सञ्चालनमा नरहेर निष्क्रिय रहेका खातावालाहरु वा सो खातामा कानुनी दावी राख्ने हकवालाले २०८२ असार १५ भित्र खाता सक्रिय वा कानुनी हकदाबी पूरा गर्नुहुन अनुरोध गर्दछौँ।”
सूचनामा थप भनिएको छ कि तय म्यादभित्र कुनै प्रक्रिया पूरा नगरेको खण्डमा बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा ११२ उपदफा (३) र नेपाल राष्ट्र बैंकको इप्रा निर्देशन १६–०८१ बुँदा ३(४) अनुसार, २० वर्षसम्म उठान नभएका वा दावी नभएका निक्षेप रकम नेपाल राष्ट्र बैंकको बैंकिङ विकास कोषमा हस्तान्तरण गरिनेछ।
एकचोटि कोषमा जम्मा भएका पैसामा सम्बन्धित खातावालालाई सावाँ तथा ब्याज पुन: भुक्तानी गर्ने जिम्मेवारी बैंकको नहुने सूचनामा स्पष्ट पारिएको छ।
नबिल बैंकले जारी गरेको सुचना जस्ताको तस्तै :
यस नबिल बैंक लिमिटेड (साविक नेपाल बंगलादेश बैंक लिमिटेड तथा युनाईटेड फाइनान्स लिमिटेड) मा खाता खोलिएको र विगत २० वर्षदेखि संचालनमा नभई निष्कृय (Dormant) अवस्थामा रहेका खाताहरुका खातावालहरु वा सो खाताको कानुनी हकवालाहरुले बैंकमा सम्पर्क राखि मिति २०८२ आषाढ १५ भित्र खाता सक्य गर्नहुन वा कानुन बमोजिम हकदावी गर्नहून अनुरोध गर्दछौ। अन्यथा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ११२ को उपदफा ३ तथा नेपाल राष्ट्र बैंकको ई.प्रा. निर्देशन १६/०८१ को बंदा नं. ३ (४) बमोजिम २० वर्ष सम्म बुझ्न नआएको वा कसैको हकदावी पर्न नआएको निक्षेप रकम नेपाल राष्ट्र बैंकको “बैंकिङ्ग विकास कोष” मा जम्मा गर्नु पर्ने प्रावधान भएकोले त्यस्ता निष्कृय खातामा रहेको रकम नेपाल राष्ट्र बैंकको “बैंकिङ्ग विकास कोष” मा जम्मा हुने व्यहोरा सम्पूर्ण खातावाला तथा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
२० वर्षदेखि निष्कृय (Dormant) अवस्थामा रहेका खाताहरुमा भएको रकम नेपाल राष्ट्र बैंकको “बैंकिङ्ग विकास कोष” मा रकमान्तर भएपछि उल्लेखित खातामा रहेको साँवा तथा सो मा प्राप्तहुने व्याज भुक्तानी सन्दर्भमा यस बैंकको दायित्व नरहने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
माथि उल्लेख भए बमोजिम निष्कृय (Dormant) खाताहरुको विस्तृत विवरणको लागि यस बैंकको वेवसाईट (www.nabilbank.com) हेर्नहुन समेत अनुरोध गरिन्छ ।