काठमाडौँ : – नेपाल शिक्षक महासंघको आह्वानमा २०८१ सालको चैत २० गतेबाट विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने मागसहित सुरु भएको आन्दोलनमा सहभागी हुन् सिन्धुपाल्चोकबाट काठमाडौँ आएकी एक शिक्षिका ९ दिनदेखि बेपत्ता भएकी छिन्।
सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा न . ४ करङ्गगैरा निवासी शिक्षिका अनिता खड्का ९ दिनदेखि सम्पर्कविहिन भएकी हुन्। उनले विगत २ वर्षदेखि करङ्गगैरा आधारभुत विद्यालयमा प्रारम्भिक बालविकास(ईसिडी) मा अध्यापन गराउँदै आएकी थिईन्। उनी दुई सन्तानकी आमा हुन्।
विद्यालय श्रोतका अनुसार उनी अन्तिम पटक गत बैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आन्दोलनस्थल बानेश्वरमा शिक्षक साथीहरुसँग देखिएकी थिईन्।
उनका श्रीमान हरिकृष्ण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै आफ्नी श्रीमतीलाई घर फर्किन अनुरोध गरेका छन्। उनले आफ्नी श्रीमतीलाई बिन्ती गर्दै जहाँ भएपनी छिटो घर फर्की आउन भनेका छन्। श्रीमान श्रेष्ठले श्रीमती सम्पर्कविहिन भएदेखि छोराछोरीको बिचल्ली भएको र छोराछोरीले आमाको बाटो कुरिरहेको बताएका छन्।
शिक्षक आन्दोलनप्रति रुष्ट बनेका उनको परिवार प्रधानाध्यापक प्रती पनि आक्रोशित बनेको देखिन्छ । श्रीमानको भनाईअनुसार यदि प्रधानाध्यापकले सबै शिक्षकलाई आन्दोलनमा सहभागी हुनै पर्ने भनेर उर्दी जारी नगरेको भए आफ्नी श्रीमती सँगै हुन्थिन भन्दै आक्रोशित बनेका छन्।