जीवनमै पहिलोपल्ट आफैं हिँड्न पाएपछि रहेन खुशीको सीमा, भइन् फुरुङ्ग !

झापा – मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन्। बिहीबार कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर भइन्।

जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन्। आमाको काखपछि आफैं हिँड्ने उमेर भए पनि उनी हिँड्न सकिनन्। अरूको सहारा चाहियो।

बिहीबार उनलाई झापाको ब्रह्मान्ड अपांगा, महिला, बचत तथा ऋण सहकारी संस्थाको पहलमा भारतको राजस्थानस्थित नारायण सेवा संस्थानले निःशुल्क कृत्रिम हातखुट्टा प्रदान गर्‍यो।

‘अब म पनि हिँड्न सक्ने भएकी छु,’ उनले खुसी हुँदै भनिन्। गाउँकै भगवती आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत लक्ष्मीलाई उनकी आमा सरिताले बोकेरै घरबाट लैजाने र ल्याउने गर्थिन्। अब छोरी आफैं स्कुल ओहोरदोहोर गर्न सक्ने आशा उनको छ।

नारायण सेवा संस्थानको सहयोगमा बिहीबार मेचीनगर नगरपालिका–२ को बाहुनडाँगीमा शिविर आयोजना गरी ९६ जनालाई एक सय आठ हातखुट्टा निःशुल्क वितरण गरेको ब्रह्मान्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताए।

कृत्रिम हातखुट्टा पाउनेहरू कोसी र मधेस प्रदेशका विभिन्न जिल्लाका छन्। उनीहरूले गत माघ २१ गते बाहुनडाँगीमै आएर आफ्नो हातखुट्टाको नापजोख गराएका थिए। सोही आधारमा सबैलाई कृत्रिम हातखुट्टा वितरण गरिएको सहकारीका अध्यक्ष निरौलाले जानकारी दिए।

सुनसरीको खनारस्थित एउटा कारखानामा मेसिनले हात छिनाएपछि पाँचथरको मिक्लाजुङ–२ का ३३ वर्षीय डिगेश्वर आङ्देम्बेले २०७६ सालमा एउटा हात गुमाउनुपरेको थियो। उनले पनि कृत्रिम हात पा‍ए।

‘यो कृत्रिम हातले मलाई मेरो काटिएर तीन वर्षअघि गएको अंग फर्किएर आएजस्तो आनन्द भइरहेको छ,’ उनले नयाँ हात लगाएपछिको अनुभूति सुनाए।

भारतको सिक्किममा पहिरोमा परी देब्रे खुट्टा गुमाएका भद्रपुर नगरपालिका–३ का ६३ वर्षीय सञ्चराज लिम्बूले ११ वर्षपछि खुट्टाले टेकेर हिँड्न पाउँदा अपार खुसी लागेको बताए।

‘वैशाखीको भरमा नै अब जिन्दगी बित्छ होला भनेर निराश भएको थिएँ,’ उनले खुट्टाका रूपमा जडान गरिएको सामग्री सुम्सुम्याउँदै भने, ‘भगवानले मेरो पुकार सुनेजस्तै लागेको छ। मेरो शरीरमा खुट्टा फर्किएको छ।’

ब्रह्मान्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरको उपस्थितिमा९६ जनालाई एउटै कार्यक्रममा कृत्रिम खुट्टा वितरण गरेको हो। उपसभामुख रानामगरले शारीरिक अशक्तता भएकाहरूलाई कृत्रिम हातखुट्टा वितरण गरेकामा भारतको नारायण सेवा संस्थानको प्रशंसा गरिन्।

शारीरिक अशक्तता भएकाहरूको सुरक्षा, शिक्षा, स्वास्थ्य, जीविका र सम्मानपूर्ण जीवनयापनका लागि राज्यले विशेष पहल गर्नुपर्नेमा उनको जोड थियो।

‘कृत्रिम हात र खुट्टा पाउनु हुनेहरूको आँखामा हर्षको आँसुसँगै ओठमा मुस्कान देखेको छु,’ उनले भनिन्। कार्यक्रममा रूद्र गौरी ओली प्रतिष्ठानले चार जनालाई ह्विलचेयर पनि प्रदान गरेको थियो।

ब्रह्मान्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्था र हरिहर सत्सङ धार्मिक विकास संस्थाले मेचीनगर–२ बाहुनडाँगीमा शारीरिक अशक्तता भएकाहरूका लागि आवश्यक पर्ने कृत्रिम हातखुट्टा, ह्विलचेयर र वैसाखीको बैंक पनि स्थापना गरेका छन्।

हरिहर सत्सङ धार्मिक विकास संस्थाका अध्यक्ष मुकुन्द नेपालले दाताहरूको सहयोगमा प्राप्त सामग्री बैंकमा जम्मा गरिने र आवश्यकताका आधारमा सही व्यक्तिको पहिचान गरेर वितरण गरिने बताए।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कृत्रिम हातखुट्टाको बैंकका लागि नगरपालिकाले आवश्यक सबैखाले सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित : बुधबार, चैत १५, २०७९२१:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

११ बजेर २७ मिनेट जाँदा भूकम्प, काठमाडौँमा समेत धक्का !