नेपालले टेस्ट खेल्ने सम्भावना, प्रशिक्षकले गरे खुलासा !

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले सहयोग गरे आगामी चार वर्षमा नेपालले पनि टेस्ट क्रिकेट खेल्ने सम्भावना रहेको बताएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

भारतीय प्रशिक्षक मोन्टीले एक चर्चित क्रिकेट पोर्टलमा सो किसिमको धारणा राखेका हुन्। गत माघ २३ गते मात्र उनी नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारी समालेका थिए। उनको आगमनसँगै एक महिनाभित्र नेपाली क्रिकेटले उत्कृष्ट सफलता निकाल्दै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ। मोन्टीले आफ्नो प्रशिक्षणमा विश्वकप क्रिकेट लिग–२ को १२ खेलबाट ११ जित दिलाएपछि एकदिवसीय मान्यता जोगाएको नेपालले सात टोली सम्मिलित लिगको शीर्ष तीनभित्र स्थान बनाउँदै छनोट यात्रा तय गरेको हो।

उनै मोन्टीले नेपालले पनि आगामी चार वर्षभित्र आफूलाई टेस्ट राष्ट्रका रूपमा उभ्याउन सक्ने उल्लेख गरेका हुन्। ‘मैले आइसिसी र जय भाइ (बिसिसिआईका सचिव तथा एसिसीका अध्यक्ष जय साह) यसबारे कुरा गरेको छु। जब स्कटल्यान्ड र आयरल्यान्डले इङ्ल्यान्डमा खेल्न पाउँछन् भने हाम्रो टोली (नेपाल) लाई पनि भारत र रणजी ट्रफीमा खेल्ने अवसर दिनुपर्छ,’ मोन्टीले भने, ‘यो सम्भव भएमा आगामी चार वर्षभित्र नेपाल पनि टेस्ट राष्ट्र बन्न सक्छ।’ मोन्टीले नेपालसँगै क्रिकेट सुरुआत गरेको अफगानिस्तानसहित अधिकांश छिमेकी राष्ट्र पूर्ण टेस्ट टोली भइसकेको पनि उल्लेख गरेका छन्।

१५ महिनाअगाडि मात्र नेपाल ट्वान्टी–२० को विश्व वरीयतामा स्कटल्यान्ड, आयरल्यान्ड र नेदरल्यान्डभन्दा अगाडि थियो। ट्वान्टी–२० को विश्व वरीयतामा नेपालका क्रिकेटरको उपस्थिति उल्लेख्य छ। नेपालकै सन्दीप लामिछाने त ग्लोबल स्टार हुन्। लामो फरम्याटको क्रिकेटका ठूला प्रतियोगितामा पनि नेपाल अगाडि बढ्ने प्रयास गरिरहेको छ। त्यस कारण पनि प्रशिक्षक मोन्टीले आइसिसी, एसिसी र बिसिसिआईसमक्ष सो किसिमका माग राखेका हुन्।

नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पनि अन्तर्राष्ट्रिय मापदण्ड मिल्ने खालको नेपालमा एउटा मात्र स्टेडियममा भए पनि आफ्नो देशमा क्रिकेट निकै लोकप्रिय रहेको उल्लेख गरेका छन्। क्यानका अध्यक्ष चन्द पनि नेपालको क्रिकेटलाई सहयोग गर्न बिसिसिआईलाई आग्रह गरेको बताउँछन्। ‘हामीले आइसिसी र एसिसीलाई सहयोग गर्न पत्राचार गरेका छौं। हामीलाई ठूलो राष्ट्रको सहयोग पनि छैन। उनीहरूले आर्थिक र प्राविधिक पक्षमा सहयोग गरे हाम्रो क्रिकेट अगाडि बढ्न सक्छ,’ चन्दले भने, ‘ओमान, युएई र नामिबिया राम्रो टोली हुन्। तर, त्यहाँ क्रिकेटको कल्चर छैन, न त उनीहरूको समर्थक नै छन्। हामी अमेरिकामा क्रिकेट खेल्न जाँदा ५÷६ सय नेपाली समर्थक आए। जबकी त्यहाँ अमेरिकी समर्थक एक मात्र थिए।’

प्रकाशित : बुधबार, चैत ०८, २०७९०८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :