‘खाए मकै, नखाए भोकै’: मकै बेचेर जीवन चलाइरहेछन् ६२ वर्षीय नीरबहादुर !

कमलामाई (सिन्धुली) – जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खानुहोस्
रसिलो, पोषिलो, दुधिलो मकै
स्वादिलो नून, खुर्सानी, टिमुर
खाए मकै, नखाए भोकै’

सिन्धुली सदमुकाम सिन्धुलीमाडी बजारको व्यस्त सडकमा सुनिने यो आवाजले पदैलयात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँबायाँ रहेका व्यापारी र व्यवसायी पनि ठेला वरिपरी झुमिन्छन् । लाग्छ, नीरबहादुर विकको कुरा सबैले सुनिरहेका छन्, उनले भनेका कुरा मानिरहेका छन् ।

पोलेको मकैै बेच्न नीरबहादुरलाई भ्याइनभ्याई हुन्छ । बिहानभर घरमा पिर्सलेर राखेको घोगाको खोस्टा निकालेर कोइलामा मकै पोल्न व्यस्त छन्, नीरबहादुरकी श्रीमती ४० वर्षीया शान्ता विक । नीरबहादुर रक्तचाप, मधुमेहलगायत रोगबाट पीडित छन् । उनले श्रीमतीलाई सकेको बेला सघाउछन् । दुई छोराछोरीकी आमा शान्तालाई दिनभर मकै पोल्न भ्याइनभ्याइ हुन्छ ।

विक दम्पतीलाई साँझसम्म सडकमा मकै पोल्दै, बेच्दै गरेको भेट्न सकिन्छ । मौसमी मकैभन्दा बेमौसमी मकै बढी बिक्ने भएपछि असिनपसिन भएर मकै पोल्दै गर्नुभएकी शान्ताले आफूले पोलेको मकै श्रीमान्ले बेचिदिँदा मात्रै पनि व्यवसायमा सहयोग पुग्ने बताए ।

विक दम्पतीको सहकार्य उदाहरणीय छ । धनुषाको मिथुलानगरपालिका–११ कालीखोला पुख्र्यौलीघर भएका विक दम्पती सिन्धुली आएर दुई वर्षदेखि मकै बेचेको कमाइले जीविका धान्दै आएका छन् । दैनिक ५० भन्दा बढी मकै बिक्री हुने गरेको शान्ताले बताए । “प्रतिगोटा ३० रुपैयाँले बेच्दा हामीलाई १० रुपैयाँ फाइदा हुन्छ । खर्च कटाएर दैनिक रु पाँच सय आम्दानी भइरहेको छ”, उनले भने। चर्को घाम लागोस् वा गर्जेर पानी परोस् यसको विक दम्पतीलाई कुनै प्रवाह हुँदैन् । तर सडकमा ठेला लिएर मकै बेच्न हिँड्दा ट्राफिक प्रहरीको खप्की सहनुपरेको शान्ताले दुःखेसो गरे ।

दलित भएकै कारण आफूले पोलेको मकै कतिपय व्यक्तिले नखाएका कारण थर परिर्वतन गरेर मकै बेचेको पीडा पनि विक दम्पतीसित छ । “सुरुसुरुमा विक थर बताउँदा हामीले पोलेको मकै धेरैले खाएनन्, घरबेटीले कोठा दिएनन् । त्यसपछि थर परिर्वतन गरेर मकै बेच्न थाल्यौँ,”शान्ताले भने, “अहिले पनि हाम्रो घरबेटीलाई हामी विक हौँ भन्ने थाहा छैन, सोध्दा ‘माझी’ भन्ने गरेका छौँ ”

मकै जीवन निर्वाह गर्ने आधार भएको विक दम्पतीको भनाइ छ । मकै बिक्री गर्नका लागि उनीहरुले रु १५ हजारमा ठेला किनेका छन् । प्रतिकिलो दाउरा रु १२ मा किन्ने गरेका छन् । प्रतिबोरा कोइला रु दुई सयमा खरिद गर्ने गरेको उनीहरुले बताए । “हरियो मकै किन्न अन्यत्र जानु पर्दैन्, बिक्री गर्न घरमै ल्याइदिन्छन्”, शान्ताले भने ।

प्रकाशित : आइतबार, चैत ०५, २०७९१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजको मौसम: मेघगर्जन, चट्याङसहित वर्षा