उपराष्ट्रपति निर्वाचनमा को-को उपस्थित भएनन् ?

काठमाडौँ – मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज मतदान सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो।

निर्वाचनमा संघीय संसद्का तीन सय ३२ सांसद र प्रदेश सभाका पाँच सय ५० प्रदेश सभा सदस्य मतदाता छन्। मतदानमा तीन सय ११ संघीय सांसद र पाँच सय १८ प्रदेश सभा सदस्यले मतदान गरे।

संघ (राष्ट्रिय सभा र प्रतिनिधिसभा) तर्फका जम्मा तीन सय ३४ सांसदमध्ये रवि लामिछानेको पद रिक्त भएको र टेकबहादुर गुरुङ निलम्बनपछि दुई पद रिक्त छ।

आजको मतदानमा संघतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक जना सांसद मतदान नगरी तटस्थ बसे।

यसैगरी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको तथा सांसदहरू चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित भएनन्। साथै सहनाज रहमानको निधन भएको थियो भने लक्ष्मी महतो कोइरीको मुद्दाका कारण मतदानमा अनुपस्थित रहे।

प्रदेश सभा सदस्यतर्फ राप्रपाका २८ र नेमकिपाका तीन सदस्य मतदान नगरी तटस्थ बसे भने जसपाका एक सदस्य अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ। आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको छ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा एमालेका अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झा उम्मेदवार छन्। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम छ।

प्रकाशित : शुक्रबार, चैत ०३, २०७९१६:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मणिमुकुन्द सेनकी छोरीले दाइजोका लागेकी थिइन् कालिका मन्दिर, अहिले भयो चिटिक्क !