प्रचण्ड फकाउने ओलीको मिसन फेल !

काठमाडौं । सत्ता साझेदारको प्रमुख शक्ति नेकपा एमालेले बालकोट बोलाएर प्रधानमन्त्री बनाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन निकै सकस देखिएको छ । राष्ट्रपति निर्वाचनका लागि साँझ सहमतिको एजेन्डा लिएका प्रधानमन्त्री प्रचण्डलाई मनाएर राष्ट्रपति हात पार्न एमाले अध्यक्ष केपी ओलीलाई सकस परेको हो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

बिहीबार अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई बीसौंपटक भेट गर्नुभयो । उहाँले सरकार गठन (पुस १०)यता सरकार सञ्चालन र राष्ट्रपतिको निर्वाचनका विषयमा प्रचण्डलाई २० पटक भेट गरिसक्नुभएको एमाले ओली निकट स्रोतले पुष्टि गरेको छ ।

राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच पछिल्लोपटक बिहीबार बालुवाटारमा करिब २ घण्टा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरि तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘पछिल्लोपटक दुई नेताहरूबीच लामो संवाद भएको छ । करिब दुई घण्टा भएको भेटमा फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित रहेर कुराकानी भएको छ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धनका दुई शीर्ष नेताहरूबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । यद्यपि, उहाँहरूबीच राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित भए पनि ठोस निर्णयमा भने पुग्न नसकेको बताइएको छ । सरकार गठन भएको सात हप्तामा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई बिसपटक भेटिसक्नुभएको छ ।

बिहीबारको भेटमा ओलीले सत्ता गठबन्धन दलका नेताहरूबीच बसेर गरिएको पूर्वसहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र त्यसमा राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्री ‘प्रचण्ड’लाई आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले एमाले, माओवादी वा अरू कुनै दलभन्दा पनि कुन दलमा सहमति बन्छ त्यसका लागि छलफल गरेर अघि बढ्दा राम्रो हुने बताउनुभएको थियो ।

प्रकाशित : आइतबार, फागुन ०७, २०७९०६:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

युगान्डाकी युवतीको काठमाडौँमा यौनधन्दा, यसरी खुल्यो काण्ड !