बजारमा छ्याप्छ्याप्ती नक्कली नोट !

बाँके । नेपालगञ्जमा नक्कली नोटको बिगबिगी देखिएको छ । कारोबारीले महत्वाकांक्षी र सोझा व्यक्तिमार्फत नक्कली नोटलाई बजारमा पुर्याइरहेका छन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

नक्कली नोटका नाइकेहरूले छिटो पैसा कमाउन लागि परेका महत्वाकांक्षी व्यक्तिलाई सक्कलीसँग नक्कली नोट साट्न लगाएर नक्कली नोटलाई बजारमा पठाएका छन् । बाँके प्रहरीले पछिल्लोपटक समातेका तीन जनाको भनाइका अनुसार नेपालगञ्ज बजारमा छ्याप्छ्याप्ती नक्कली नोट पुगेको छ ।

बाँके कोहलपुरका मोहन कुमाई, अछाम तुर्माखादका दीपक विसी र सल्यान बनगाडका मोहन रानालाई प्रहरीले १ हजारको ५ लाख ६९ हजार रुपियाँ नक्कली नोटसहित पक्राउ गरेको छ । यी व्यक्तिले २ लाख रुपियाँ सक्कलीसँग ६ लाख रुपियाँ नक्कली नोट साटेका थिए । ६ लाखमध्येमा ३१ हजार रुपियाँ उनीहरूले बजारमा खर्च गरिसकेका छन् । उनीहरूले खाना, नास्ता, बसाइ खर्चमा नक्कली नोट दिने गरेको बयान दिएका छन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार, नक्कली नोटको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा तीन जनालाई नेपालगञ्जको न्युरोडबाट पक्राउ गरिएको हो । उहाँले अपराधीको फन्दामा परेर पक्राउ परेका व्यक्तिले आफूले पनि लाभ लिने किसिमले कारोबारमा लागेको बताउनुभयो । फाल्गुन २ गते पक्राउ गरिएका उनीहरूलाई बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।

प्रहरीले मुख्य व्यक्ति अरू नै रहेको जनाएको छ । उसको खोजी गरिरहेको छ । डीएसपी घर्तीमगरले कहाँबाट छापेर, कसरी नेपालगञ्जसम्म आइपुग्यो भन्नेबारेमा अनुसन्धान गरिरहेको बताउनुभयो ।

प्रकाशित : शुक्रबार, फागुन ०५, २०७९०७:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी