इल्चेमाथि रियलको गोलवर्षा, बार्सिलोनासँगको अंक दूरी छोट्यायो !

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित दर्ता गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ । रियलले घरेलु मैदानमा इल्चेमाथि ४–० को फराकिलो जित दर्ता गर्दै बार्सिलोनासँगको अंक दुरी ८ मा छोट्याउँदै उपाधि दावेदारी कायमै राखेको हो ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा घरेलु टोलीको जितमा कप्तान करिम बेन्जेमाल दुई तथा मार्काे एसेन्सियो र लुका मोड्रिचल समान एक गोल गरे ।

खेलको आठौं मिनेटमा नै एसेन्सियोको गोलबाट रियलले खेलमा १–० को अग्रता लिन सफल भएको थियो । उनले ड्यानियल कार्भाजलको पासमा चार खेलाडीबीचबाट सुन्दर गोल गर्न सफल भएका थिए ।

३१औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । क्रसबाट आएको पासलाई बेन्जेमाले हेडर प्रयास गर्दा एन्जो रोकोले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा बेन्जेमा चुकेनन् ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्जेमाले पुन पेनाल्टीमा गोल गरेपछि रियलले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

रोड्रिगोलाई डिएगो गोन्जालेजसले फउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । यसपटक गोलरक्षक एडगर बाडियाले बेन्जेमाको पेनाल्टीको दिशा ठम्याएपनि रोक्न सकेन ।

त्यसपछि परिवर्तित मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । ६८औं मिनेटमा ड्यानियल सेवालोसको स्थानमा मैदान छिरेका मोड्रिचले पेनाल्टी बक्सभित्रबाट सुन्दर फिनिस गरे ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २१ खेलबाट ४८ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ । पराजित इल्चे ९ अंक जोडेर पुछारमा छ ।

प्रकाशित : बिहिबार, फागुन ०४, २०७९०६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चेल्सीलाई डर्टमुन्डले सिकायो पाठ, अन्तिम १६ को पहिलो लेगमा हार !