नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्ने काम तिब्र, विस्फोटको तयारी !

चितवन, निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणस्थलमा विस्फोटक पदार्थको प्रयोग गर्ने तयारी गरिएको छ। यो समाचार गोरखापत्रमा प्रकाशित छ।

नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख इन्जिनियर किरण कार्कीका अनुसार तुइन र चिसेन्जीखोलामा निर्माणाधीन पुलका लागि भित्तो काट्ने काम कठिन भएपछि उक्त क्षेत्रमा विस्फोटक पदार्थ प्रयोगको तयारी गरिएको हो। उहाँका अनुसार तुइन र चिसेन्जी दुवै खोलाको नारायणगढतर्फको क्षेत्रमा कडा चट्टानका कारण निर्माणको काम कठिन भएको छ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पछिल्लो समय निर्माणाधीन तुइन, चिसेन्जी, काली र सिमलताल खोलाका पुलका लागि भित्तो काट्ने प्रयोजनमा बितेको दुई महिना उक्त सडकखण्ड दैनिक चार घण्टा पूर्ण रूपमा बन्द गरिँदै आएको थियो। चारवटा पुलमध्ये दुईवटा पुल निर्माणस्थलको भित्तो काट्ने काम नसकिएपछि निर्माण कम्पनीले विस्फोटक पदार्थ प्रयोग गर्न अनुमति माग गरेको र त्यसका लागि प्रक्रिया अगाडि बढाइएको हो।

गत पुस ५ गतेदेखि भित्तो काट्ने प्रयोजनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक बन्द गरेर सुरु गरिएको उक्त काम समयमा पूरा नभएपछि माघ ५ गतेबाट बिहान ११ बजेको बदला मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरेर निरन्तरता दिइएको थियो। पछिल्लो समय थप भएको समयसीमा सकिन तीन दिन मात्र बाँकी छ तर तुइन र चिसेन्जीखोलामा निर्माण गरिने पुलका लागि भित्तो काट्ने काम कडा चट्टानका कारण ३० देखि ३५ प्रतिशत अझै बाँकी छ।

प्रकाशित : बुधबार, फागुन ०३, २०७९०७:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो चरा र राति स्यालको रजाइँ !