भारतीय तरकारीको मारमा स्वदेशी किसान !

काठमाडौँ, भारतबाट आयात भएको तरकारीका कारण स्वदेशी उत्पादनले बजार पाउन सकेको छैन । पछिल्ला केही दिनयता भारतबाट तरकारी आयात हुने क्रम बढेपछि नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार र मूल्य पाउन नसकेको हो । यो समाचार गोरखापत्रमा प्रकाशित छ।

भारतबाट आयातित तरकारीले गर्दा नेपालमा उत्पादित तरकारीले मूल्य नपाएको भन्दै शुक्रबार चितवनका किसानले सडकमा तरकारी फ्याँकेर साङ्केतिक विरोध गरे । नेपालमा उत्पादन भएको तरकारीको तुलनामा भारतबाट भित्रिएको तरकारी सस्तो छ ।

देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले बजारमा भारतीय आलुको मूल्य थोकमा प्रतिकेजी १९ देखि २३ रुपियाँ छ भने नेपाली आलुको मूल्य २५ देखि ३० रुपियाँसम्म छ ।

ठूलो गोलभेँडा भारतीय र नेपालीको भाउ औसतमा ४७ रुपियाँ प्रतिकेजी छ भने सानो गोलभेँडा भारतीयभन्दा नेपाली सस्तो छ । नेपाली गोलभेँडा प्रतिकेजी १७ रुपियाँ थोकमा कारोबार भइरहेको छ भने भारतीय गोलभेँडा प्रतिकेजी २२ रुपियाँ रहेको समितिले जनाएको छ ।

कालीमाटी तरकारी बजारमा भित्रिएको तरकारीमध्ये ४५ प्रतिशत हिस्सा भारतीय तरकारीले ओगटेको छ । समितिका अनुसार भारतबाट भित्रिएको तरकारीमध्ये ठूलो परिणाम आलु र प्याज रहेको छ । त्यसपछि गोलभेँडा रहेको छ ।

गत वैशाख १ देखि माघ २२ गतेसम्म कालीमाटीमा २२ करोड ४३ लाख ८७ हजार केजी तरकारी भित्रिएको छ । जसमध्ये नौ करोड ५३ लाख ७० हजार ३१७ केजी तरकारी भारतबाट भित्रिएको छ ।

सो अवधिमा भित्रिएको तरकारीमा आलु मात्रै तीन करोड १० लाख ८६ हजार ८७३ केजी भित्रिएको छ । आलुले ७० प्रतिशत हिस्सा ओगटेको छ भने सो अवधिमा तीन करोड पाँच लाख २६ हजार ५९२ केजी प्याजले ९९ प्रतिशत हिस्सा ओगटेको छ । बन्दा एक लाख ४६ हजार केजी र गाँजर चार लाख ४७ हजार ५०५ केजी आएको समितिले जनाएको छ ।

सो अवधिमा चीनबाट एक लाख ३३ हजार आठ सय केजी, भुटानबाट एक लाख १२ हजार तीन सय केजी, बङ्गलादेशबाट एक लाख ४७ हजार केजी तरकारी आएको छ । सो अवधिमा हरियो फर्सी, तनेबोडी, काउली, ब्रोकली, भिन्डी, करेला, काँक्रो पनि आएको छ ।

यो वर्ष कन्दमूल (तरुल, सखरखण्ड, पिँडालु)समेत भारतबाट आएको छ । गएको मङ्सिर र पुस महिनामा दुई लाख केजी कन्दमूल आएको समितिले जनाएको छ । अघिल्ला वर्षहरूमा यस्ता कन्दमूल वर्षभरिमा एक लाख केजी आएको देखिन्छ ।

समितिका अनुसार २०७८ सालमा कालीमाटी बजारमा झन्डै २६ करोड रुपियाँभन्दा बढीको तरकारी भित्रिएकामा ११ करोड केजी भारतबाट आएको थियो । यो बजारको मागको लगभग ४१ प्रतिशत हुन आउँछ । सो अवधिमा चीनबाट १० लाख १३ हजार ५२० केजी तरकारी आएको समितिले जनाएको छ । चीनबाट लसुन बढी आएको देखिन्छ । सो अवधिमा भुटानबाट लगभग दुई लाख केजी आलु आएको देखिएको छ ।

प्रकाशित : मङ्गलबार, माघ २४, २०७९०८:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माओवादीको साथ पाउनेमा कांग्रेस ढुक्क, ढोक्सोमा पर्ने भयो माछा !