आकर्षक तलब दिने भेनर पुर्याइयो कुवेत, तर बेचियो १० लाखमा !

काठमाडौँ – वाग्मती प्रदेशकी २१ वर्षीया एक युवती आकर्षक तलब-सुविधाको आशामा गत मंसिर २७ गते कुवेत पुगिन्। उनलाई कुवेतको रोयल रेस्टुरेन्ट कम्पनीमा राम्रो तलब-सुविधासहित काम पाइने प्रलोभन देखाएर नेपालबाट तीनजना दलालले त्यहाँ पठाएका थिए। तर त्यहाँ पुगेपछि भने आकर्षक तलब–सुविधा प्राप्त गर्ने उनको सपना चकनाचुर भयो। उनलाई कुवेतमा मासिक तलब–सुविधा दिने गरी काममा पठाइएको नभई बेचिएको थियो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

दलालहरूले वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पुर्‍याउँदासम्म पनि आफू बेचिएको पत्तै नपाएको ती युवती बताउँछिन्। परिवार र आफन्तबाट शुभकामना बटुलेर कुवेत ओर्लिएकी उनलाई विमानस्थलमा लिन कुवेतस्थित नेपाली एजेन्टकै कार्यालयबाट एक युवती आएकी थिइन्। कुवेतस्थित एजेन्टको कार्यालमा पुगेको केही घन्टापछि उनलाई लिन एक अरबी युवक आए। नेपाली युवती र ती युवकबीच केही खासखुस कुरा भयो। त्यसपछि त्यो युवकले उनलाई लिएर गए। विमानस्थलसम्म लिन आएकी नेपाली युवतीले अरबी युवकसँगै जान भनेको उनले सुनाइन्। ‘मलाई पनि काम गर्ने कम्पनीको मान्छे लिन आएको होला भन्ने लाग्यो । त्यो युवकसँगै गएँ,’ उनले भनिन्।

आफूलाई कम्पनीमा नभएर ती युवकले घरमा लिएर गएको उनले बताइन्। ‘म रेस्टुरेन्टमा काम गर्न भनेर आएकी हुँ, घरमा किन ल्याएको?’ भनेर सोध्दा ती युवकले ‘तिमीलाई १० लाख रूपैयाँमा किनेर ल्याएको’ जवाफ दिए। पीडित युवतीले भनिन्, ‘त्यसपछि मात्र मैले आफू बेचिएको थाहा पाएँ।’ त्यसपछि आफू अत्तालिएकी उनले बताइन्। उनका अनुसार घरमा पु¥याएको केही घन्टा पनि नबित्दै मालिकले काम गर्न दबाब दिँदै कुटपिट गर्न थाले। उनीहरूले आफूले किनेर ल्याएकाले जस्तोसुकै काम गर्नुपर्ने भन्दै दबाब दिए। वैदेशिक रोजगारीमा गएर आकर्षक तलब–सुविधा प्राप्त गर्ने उनको सुन्दर सपना क्षणभर पनि टिक्न सकेन।

ती युवतीका अनुसार आदेश नमान्दा घरमालिकले उनलाई कपाल भुत्ल्याउने, फलामको लौरो वा नजिकै जे भेटिन्छ त्यसैले कुट्ने गर्थे। घरमालिकले उनको मोबाइल पनि खोसे। घरपरिवारसँगको सम्पर्क पनि टु्ट्यो। केही समयपछि जब मोबाइल हात पर्‍यो उनले सबैभन्दा पहिले आफ्नो अवस्थाबारे परिवारलाई जानकारी गराइन्। उनले कुटपिटबाट भएका चोटसहितको भिडियो ह्वाट्स एपमार्फत नेपालमा रहेका दाइलाई पठाइन् र जतिसक्दो चाँडो उद्धार गर्न भनिन्। आफ्नो अवस्थाबारे परिवारलाई जानकारी गराएको थाहा पाएपछि घरमालिकले फेरि मोबाइल खोसेको उनले बताइन्। ‘घरमालिकले आफूले मात्र कुट्ने नभएर बाहिरबाट डरलाग्दा अरबी बोलाएर कुटपिट गर्न लगाउँथे। शरीरमा नीलडामबाहेक केही थिएन। खाना खान पनि दिँदैनथे,’ उनले भनिन्।

उनका दाइले कुवेतमा भएकी बहिनीलाई नेपाल ल्याइदिन अनुरोध गर्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिए। तर उनलाई भने कुवेतमा पुर्‍याएका दलालहरूले ८/९ लाख पैसा दिए मात्र नेपाल फर्काइदिने नभए त्यहीं मार्न लगाउने भन्दै त्रास देखाए। उनीहरूले कुनै मुद्दामा फसाएर कुवेतमै जन्मकैद गराइदिनेसम्मका धम्की दिए।

उद्धारका लागि कुवेतमा रहेको नेपाली राजदूतावासमा खबर पुगेको करिब १५ दिनपछि उनलाई बेच्ने एजेन्सीको कार्यालयमा ल्याइयो। त्यसपछि भने उनमा नरकको जीवनबाट छुटकारा पाइन्छ कि भन्ने झिनो आशा जाग्यो। तर बेच्ने एजेन्सीको कार्यालयमा आएपछि पनि उनीमाथिको कुटपिट रोकिएन। त्यहाँ पनि आफूलाई बन्द कोठामा थुनेर नेपाली केटीले नै बेसरी कुटेको उनी बताउँछिन्।

प्रकाशित : सोमबार, माघ १६, २०७९१०:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बोलिका पक्का निस्किएनन् प्रचण्ड, सरकार छाड्ने रास्वपाको चेतावनी !