काठमाडौँ : सनातन धर्ममा माघ शुक्लपक्ष पूर्णिमालाई धेरै महत्त्वपूर्ण मानिन्छ। यसपटक माघ पूर्णिमा माघ २२ गते आइतबार परेको छ। माघ पूर्णिमाकोदिन देवी-देवता पृथ्वीमा विचरण आउने किम्दंती रहेको छ। धार्मिक मान्यता अनुसार यस दिन नदी तथा खोलामा स्नान गर्ने व्यक्तिको सम्पूर्ण रोग र सङ्कटहरु हटेर जान्छ। माघ पूर्णिमाका दिन माता लक्ष्मी र चन्द्रमाको पूजा गर्ने विशेष विधि छ। यस वर्ष माघ पूर्णिमाका दिन विशेष शुभ संयोग बन्दैछ, जसले विभिन्न राशिका जीवनमा खुशीयाली ल्याउनेछ।
ज्योतिषीहरुका अनुसार यस वर्ष माघ पूर्णिमाका दिन ४ वटा दुर्लभ योग बन्दैछन्। एकै दिनमा यी चार योगहरु बन्नु निकै शुभ साबित हुनेछ। यी दुर्लभ योगहरू सौभाग्य, रविपुष्य, आयुष्मान र सर्वार्थ सिद्धि योग हुन्। यस दिन माता लक्ष्मी र चन्द्रमाको पूजा गर्नाले दिर्घायु प्राप्त हुन्छ। धनसम्बन्धी समस्या हटाउन पनि माघ पूर्णिमाको दिन साधना गर्नु उत्तम मानिन्छ।
ज्योतिषशास्त्रका अनुसार माघ पूर्णिमाको रातमा लक्ष्मीको पूजा विधि विधिपूर्वक गर्नुपर्छ। मध्यरातमा अष्टलक्ष्मीको अष्टगन्ध चढाउनुपर्छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत विधिपूर्वक यसै दिन समापन गरिन्छ।
पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले यसै दिन व्रत समापन गर्छन्। त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि अन्त्य गरिन्छ।
विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ।
सय रोटी बर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ।
आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान र योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ। चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरद मुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख छ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ। रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ।
सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनःमिलन भएको कथामा उल्लेख छ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ।
मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको छ।
