‘कालो सुन’को मूल्यलाई चिराइतोको मूल्यले उछिन्यो !

ताप्लेजुङ,  ‘कालो सुन’को नामले परिचित अलैँचीको मूल्यलाई चिराइतोको मूल्यले उछिनेको छ । उच्च हिमाली जिल्ला ताप्लेजुङको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यभन्दा चिराइतोको मूल्य धेरै भएपछि किसान र व्यवसायी उत्साहित भएका छन् । यो समाचार गोरखापत्रमा प्रकाशित छ।

चिराइतो व्यवसायी तथा सङ्कलक स्थानीय गोविन्दराज बरालका अनुसार ताप्लेजुङमा चिराइतो प्रतिमन (४० किलोग्राम) ३० देखि ३२ हजार रुपियाँमा कारोबार भइरहेको छ । झापाको बिर्तामोडमा प्रतिमन ३५ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको उहाँले बताउनुभयो ।

यस वर्ष भारतबाट चिराइतोको माग धेरै आएकाले मूल्य पनि राम्रो आएको स्थानीय व्यवसायी तथा किसान बताउँछन् । नेपालमा उत्पादन हुने अलैँची र चिराइतोको बजार भारत हुँदै तेस्रो मुलुक नै हो । त्यसैले यहाँ उत्पादन हुने चिराइतोको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर पर्ने व्यवसायी बरालको भनाइ छ ।

विगतका वर्षमा चीनबाट चिराइतोको उच्च माग हुने र त्यसबेला मूल्य पनि राम्रै रहेको थियो । पाँच÷सात वर्षयता चीनलगायत कुनै पनि देशबाट माग नभएपछि मूल्य घट्नुका साथै कारोबार पनि ठप्प भएको व्यवसायीले बताएका छन् । स्थानीय व्यवसायी तथा किसानका अनुसार गत वर्षसम्म चिराइतो कारोबार नभएको र प्रतिमन १० हजार रुपियाँमा पनि बिक्री हुन सकेको थिएन ।

बजार माग र मूल्य नभएपछि किसानले चिराइतो खेती लगाउन नै छाडिसकेका थिए । चिराइतोको विकल्प नभएको ठाउँमा मात्र बर्सेनि सामान्य खेती गर्ने गरिएको किसानको भनाइ छ । सात÷आठ वर्षपछि यसपालि चिराइतोको राम्रो मूल्य आएपछि किसानमा उत्साह छाएको फक्ताङ्लुङ गाउँपालिका–४, इखाबुका धनबहादुर लाबुङ लिम्बूले बताउनुभयो ।

चिराइतोका किसानसमेत रहनुभएका लिम्बूले मूल्य राम्रो आएपछि अहिले धमाधम बिक्री गर्न थालेको बताउनुभयो । चिराइतो खेतीप्रति निराशा छाउँदै गएको अवस्थामा यस वर्षको मूल्यले उत्साह जगाएको पनि उहाँले बताउनुभयो । चिराइतो खेती अन्य बालीभन्दा सहज हुने भएकाले आकर्षक मूल्य आएमा खेती गर्न किसानले झन्झट मान्दैनन् । सामान्य पाखोबारी र जमिनमा भस्मे फँडानी गरेर चिराइतो खेती लगाउँदा राम्रै फस्टाउने किसान बताउँछन् ।

प्रकाशित : बिहिबार, माघ १२, २०७९०८:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राष्ट्रपति पद एमालेलाई नदिने पक्षमा प्रचण्ड !