लगातार फिल्म फ्लप भएपछि तनावमा राजकुमार राव, धरापमा करियर !

एजेनसी – सन् २०१८ मा रिलिज फिल्म ‘स्त्री’ पछि अभिनेता राजकुमार रावले बक्सअफिसमा कुनै सफल फिल्म दिएनन् । यद्यपि त्यसअघि उनको खातामा ‘बरेली की बर्फी’ र ‘न्यूटन’ जस्ता औसत फिल्म मात्र थिए । तर पनि उनका लागि राहतको कुरा यो थियो कि मानिसहरु उनमा सम्भावना देख्थे र अभिनयको तारिफ गर्थे ।

‘स्त्री’पछि भने न उनको फिल्मी दम देखियो न त चम्किलो अभिनय नै । उनीपछि आएका आयुष्मान खुराना र पंकज त्रिपाठी अहिले उनीभन्दा धेरै अगाडि छन् । राजकुमारको फिल्मलाई भने हलमा दर्शक जुटाउनै हम्मे परिसकेको छ । यस्तो अवस्थामा अब उनले दर्शकसँग सम्पर्कमा रहिरहनका लागि म्यूजिक भिडियोको अभिनय तिर लागेका छन् ।

दुई दिन अघि टी–सिरिजमा सन् १९९५ मा रिलिज फिल्म ‘सनम बेवफा’को चर्चित गीत ‘अच्छा सिला दिया तुने मेरो प्यार’को रिमिक्स गीत सार्वजनिक भएको थियो । गीतको भिडियोमा राजकुमार राव र नोरा फतेही फिचर्ड छन् । नोराको अभिनयको अवस्थाबारे सबै जानकार छन्, किनकी उनी मूल रुपमा डान्सर हुन् । तर राजकुमारले यो भिडियोमा अभिनय गरेको देखेर दर्शक चकित छन् ।

भिडियो रिलिज हुनासाथ सामाजिक सञ्जालमा तिखो आलोचना भइरहेको छ । अधिकांशले राम्रो गीतलाई रिमिक्स गरेको भनेर आलोचना गरिरहेका त छन् नै । राजकुमार जस्तो अभिनेतालाई के बाध्यताले भिडियोमा अभिनय गर्नुपर्यो भन्ने कुराले पनि मान्छेलाई अचम्मित बनाएको छ ।

राजकुमारले ‘स्त्री’पछि ‘लव सोनिया’, ‘५ वेडिंग्स’, ‘एक लड्की को देखा तो ऐसा लगा’, ‘जजमेन्टल है क्या’, ‘मेड इन चाइना’, ‘शिमला मिर्च’, ‘रूही’ र ‘बधाई दो’ जस्ता फ्लप फिल्म बक्सअफिसमा दिए । ओटीटीमा रिलिज उनको ‘हम दो हमारे दो’ र ‘मोनिका ओ माई डार्लिङ’को चर्चा पनि खासै भएन । दर्शकले फिल्मलाई नै बिर्सिए ।

अहिले राजकुमारको करियर डामाडोल छ । बलिउडको बक्सअफिसले संकटको सामना गरिरहँदा राजकुमारलाई भने राम्रो फिल्म दर्शकलाई दिनुपर्ने जिम्मेवारी उत्तिकै छ । सन् २०२३ मा उनका तीन फिल्म ‘भीड’, ‘मिस्टर एण्ड मिसेज माही’ र ‘श्री’ रिलिज हुँदैछन् । यदी यी फिल्मले पनि उनको करियरलाई सम्हाल्न सकेन भने उनका लागि आगामी दिन अझ कठिन हुनेछ ।

प्रकाशित : आइतबार, माघ ०८, २०७९१२:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सेतो साडीमा अभिनेत्री जाह्नवीको नयाँ रुप, तस्बिर सहित !