तस्करहरुले फेरे गैँडा मार्ने तरिका, परम्परागत शैलीमा छाडेर अपनाउन थाले नयाँ तरिका !

भरतपुर,  गैँडा सिकारीले गैँडा मार्ने परम्परागत शैलीमा परिवर्तन ल्याएका छन् । खाग तस्करीका लागि गोली हानेर गैँडा मार्ने परम्परागत शैली परिवर्तन गर्दै तस्करले विद्युतीय धरापलाई गैँडा मार्ने माध्यम बनाउन थालेका हुन् । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

त्यसैको पछिल्लो घटना चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने नवलपरासीको अमलटारी इलाकामा शुक्रबार भएको छ । उक्त घटनामा एकै पटक माउ र बच्चा गैँडा विद्युतीय धरापमा पारेर मारिएका छन् । दुवै गैँडाको खाग र खुर छैन । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठ पछिल्लो समय गैँडा मार्न विद्युतीय धराप प्रयोग हुने गरेको बताउनुहुन्छ । “खाग, खुर नभएको गैँडा विद्युतीय धरापमा मारिएको अवस्थामा भेटिनुले चोरी सिकारीले गैँडा मार्ने शैली परिवर्तन गरेको पुष्टि हुन्छ,” उहाँले भन्नुभयो ।

गाउँ–गाउँमा बिजुली पहुँच पुगेकाले त्यसलाई तस्करले हतियार बनाएको देखिन्छ । यस घटनाले वन्यजन्तुको चोरी सिकार नियन्त्रणमा थप चुनौती थपिएको छ । गत असोज २७ गते निकुञ्जबाहिर सौराहानजिकै मध्यवर्ती क्षेत्रमा विद्युतीय धरापमा पारेर गैँडा मारिएको थियो । त्यस्तै २०७८ मङ्सिर २७ गते चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदीकिनारमा मृत अवस्थामा भेटिएको गैँडा पनि विद्युतीय धरापमै पारेर मारिएको पोस्टमार्टम टिपोर्टमा उल्लेख छ । पोस्टमार्टम गर्ने चिकित्सक डा. श्रेष्ठले धमाधम गैँडा मारिँदै जानु संरक्षणका लागि चुनौती भएको बताउनुभयो ।

गैँडाविज्ञ तथा चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवले यसरी नै गैँडा मारिँदै जाने हो भने सकिन धेरै समय नलाग्ने बताउनुभयो । “पहिला–पहिला आफ्नो खेती बचाउन स्थानीयले खेतबारीमा थापेको विद्युतीय धरापमा परेर धेरै गैँडा मरेका हुन् तर चोरी सिकारीले नै प्रयोग गरेको पहिलो पटक अहिले भेटियो,” उहाँले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्ज क्षेत्रमा चालू आर्थिक वर्षको पाँच महिनामा ११ वटा गैँडा मरेका छन् । तीमध्ये चार चोरी सिकारीले मारेका हुन् । तीमध्ये पनि विद्युतीय धरापमा मारिएका तीनवटा छन् । चितवन निकुञ्जमा चोरी सिकारीले पछिल्लो चार वर्षमा कुनै पनि गँैडा मार्न नसकेका बेला गत वर्षदेखि पुनः सक्रियता बढाएका हुन् । गत वर्ष चारवटा गैँडा चोरी सिकारीले मारेकामा यो आर्थिक वर्षको पाँच महिनामै चारवटा गैँडा चोरी सिकारीले मारेका छन् । यसले सुरक्षा व्यवस्था कमजोरी पुष्टि गर्छ ।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारी गैँडाको चोरी सिकार कमजोर सुरक्षा क्षेत्रमै भइरहेको बताउनुहुन्छ । “गैँडा मार्ने शैलीमा परिवर्तन आएको छ, त्यो पनि तस्करले कमजोर सुरक्षा क्षेत्रलाई आफ्नो केन्द्र बनाउने गरेका छन्,” उहाँले भन्नुभयो ।

२०७३ चैतयता २०७७ सम्म निकुञ्जभित्र चोरी सिकारीले गैँडा मार्न सकेका थिएनन् । त्यसबेला निकुञ्जले चोरी सिकार शून्य वर्ष पनि मनाएको थियो । लामो समयदेखि निकुञ्जमा बाघ, गैँडा संरक्षण अभियानमा जुट्नुभएका निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत यादव कोरोना सन्त्रासका बेला नियमित गस्ती तथा सुरक्षाका गतिविधि कम भएको मौका छोपेर चोरी सिकार गर्ने गिरोह सक्रिय भएको बताउनुहुन्छ ।

“वर्षाका बेला सुरक्षा पोस्ट पनि राख्न नसकिएको अवस्था हो । त्यहीबेला कोरोना कहर थपियो । जुन चोरी सिकारका लागि सुनौलो मौका बन्न पुग्यो,” उहाँले भन्नुभयो । पछिल्लो समय गैँडा चोरी सिकारमा संलग्न रहेको अभियोग लागेर जेल भुक्तान गरेकाहरू भटाभट मुक्त हुँदा पनि उनीहरू चोरी सिकारमा फर्किएको उहाँको शङ्का छ । “गैँडाको चोरी सिकार गरेको अभियोग लागेकामध्ये केही समययता ३० जनाभन्दा बढी जेलमुक्त भएका छन् । उनीहरूको निगरानी एवं अनुसन्धान गर्नु जरुरी छ,” उहाँको सुझाव छ ।

सन् २०२१ को गणनाअनुसार नेपालमा ७५२ गैँडा छन् । तीमध्ये चितवन निकुञ्जमा मात्रै ६९४ गैँडा भेटिएका थिए । निकुञ्जमा आर्थिक वर्ष २०५८/५९ मा सबैभन्दा बढी गैँडा मारिएका थिए । उक्त वर्ष ४८ मारिएकामा ३७ वटा चोरी सिकारीले मारेका थिए ।

प्रकाशित : आइतबार, माघ ०८, २०७९०८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कांंग्रेसको ढोक्सामा राष्ट्रपति पार्ने चलखेल