सिकारीले दुईवटा गैंडाको लिए ज्यान, एउटाको खागसमेत झिकेर लगे !

काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्जमा सिकारीले दुईवटा एक सिङ्गे गैंडा मारेका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्टनजिक नारायणी नदीको उत्तरीकिनारमा विद्युतीय धरापमा पारी दुईवटा गैंडा मारिएका हुन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार शुक्रबार दिउँसो १४ वर्षको पोथी र ४ वर्षको भाले गैंडा मृत फेला परेका छन्। सिकारीले पोथी गैंडाको खागसमेत झिकेर लगेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए। योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आवमा मृत्यु हुने गैंडाको संख्या १० पुगेको छ। तर सिकारीले मारेको घटना भने पहिलो हो।

यसअघि मृत्यु भएकामध्ये करेन्ट लागेर एक गैंडाको मृत्यु भएको थियो भने अरू प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ। चितवन राष्ट्रिय निकुञ्जआसपासमा डेढ वर्षपछि सिकारीले गैंडा मारेका हुन्। यसअघि अघिल्लो साउनमा माडीमा सिकारीले गैंडा मारेका थिए।

यससँगै २०५५ सालदेखि हालसम्म सिकारीद्वारा यस क्षेत्रमा १ सय ८१ वटा गैंडा मारिएका छन्। तर पछिल्लो १० वर्षमा ११ वटा गैंडा चोरीसिकार भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको चोरीसिकार सन् १९९० को दशकबाट पुनः सुरु भई द्वन्द्वकालमा बढेर गरेको देखिन्छ। चितवनमा सन् २००० देखि सन् २०१० बीचको ११ वर्षको अवधिमा १५८ वटा गैंडा सिकारीले मारेका थिए भने सन् २००२ मा एकै वर्षमा ३८ वटा गैंडा मारिए। यो नै एकै वर्षमा सबैभन्दा बढी गैंडा मरेको वर्ष मानिएको छ।

आव २०६९÷७० मा एक, २०७०÷७१ मा एक र आव २०७३÷७४ मा एउटा गैंडा सिकारीले मारेका थिए। त्यसपछि केही वर्ष रोकिएको चोरीसिकार आव २०७७÷७८ मा एक्कासि चारवटा गैंडा तस्करले मारेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। गत आवर्षमा २ वटा गैंडा मारिएका छन्।

चालु आवमा एकै ठाउँमा दुईवटा गैंडा मारिए। आव २०७१÷७२, २०७२÷७३, २०७४÷७५, २०७५÷७६, २०७६÷७७ मा चितवनमा गैंडाको चोरीसिकार भएन। सो समय निकुञ्जले चोरीसिकार वर्ष मनाएको समेत थियो। तर पछिल्ला दुई वर्षदेखि चोरीसिकार र कालगतिले भकाभक मर्ने क्रम बढेपछि संरक्षणमा चुनौती थपिएको छ।

प्राकृतिक कारणले पनि गैंडा मर्ने क्रम बढ्दो अवस्था रहेको छ। गैंडा बुढो भएर, आपसमा जुँधेर, घोलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन्। गत आवमा ३७ वटा गैंडा प्राकृतिक कारणले मरेको देखिन्छ। त्यस्तै अघिल्लो आव २०७७÷७८ मा ३३ र आव २०७६÷७७ मा ४३ गैंडा प्राकृतिक कारणले मरेका छन्।

प्रकाशित : शनिबार, माघ ०७, २०७९०८:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निफ्राको नाफा ७२ प्रतिशतले कसरी बढ्यो ?