प्रचण्ड प्रधानमन्त्री भएपछि शून्य भयो पेरिसडाँडा !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भएसँगै पार्टीका गतिविधि सुस्त भएका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठको व्यस्तताले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा शून्य हुन पुगेको हो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायत अरू नेताहरू पार्टी कार्यालय जानुभन्दा घरमै नेता कार्यकर्ता भेट्ने गरेका छन् । सत्ताधारी पार्टीको केन्द्रीय कार्यालयमा भीडभाड हुनुपर्नेमा त्यसको ठीकविपरीत भएको नेता कार्यकर्ताहरूले गुनासो गरेका छन् । दलका शीर्ष नेता सरकारमा गएसँगै पार्टीका काम कसले गर्ने भन्ने अन्योल भएको एक केन्द्रीय सदस्यले बताए ।

कम्युनिस्ट पार्टीहरू नेतृत्व केन्द्रित हुने भएकाले पनि नेतृत्व नै सरकार प्रमुख भएपछि पार्टी सञ्चालनमा कमजोरी भएको उनको भनाइ छ । प्रचण्ड प्रधानमन्त्री भएदेखि पार्टीका दोस्रो तहका नेताहरू र जनवर्गीय संगठनको बैठक, भेला, छलफलसमेत हुन सकेको छैन ।

उपप्रधानमन्त्री श्रेष्ठलाई प्रेस सेन्टरका नेताहरूले मन्त्रालयका काम कारबाहीका विषयमा सुझाव दिने क्रममा नेतृत्व सरकारमा गएपछि पार्टी चलायमान नभएको गुनासो पोखेका थिए । सरकार र पार्टी दुवै सक्रिय भए मात्रै काम कारबाही प्रभावकारी हुने प्रेस सेन्टरका नेताहरूको भनाइ थियो ।

पछिल्लो समय प्रचण्ड प्रधानमन्त्री भएपछि पार्टीका बैठक, भेला, छलफल हुन सकेका छैनन् । बरू अधिकांश नेता कार्यकर्ता प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठलाई खुसी पार्न खादा, माला बोकेर बालुवाटार र सिंहदरबार धाउन थालेका छन् । तर, पार्टीका अरू प्रभावशाली नेताहरू सक्रिय नहुँदा पार्टी कार्यालय सुनसानजस्तै हुन पुगेको छ ।

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई प्रेस सेन्टरका नेताहरूले भेटेर पार्टीलाई जागरुक बनाउन दोस्रो तहका नेताहरूलाई सक्रिय बनाउनुपर्ने सुझाव दिएका छन् । ‘प्रचण्ड प्रधानमन्त्री र तपाई (नारायणकाजी श्रेष्ठ) उपप्रधानमन्त्रीसहित भौतिक मन्त्री भएपछि पार्टी गतिविधि शून्य भयो’, मन्त्रीलाई सुझाव दिने क्रममा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा (जुगल) ले भन्नुभयो– ‘पेरिसडाँडा र खुमलटारमा गतिविधि छैन । अहिले पार्टी बालुवाटार र तपाईंमा मात्रै केन्द्रित भयो । यसरी पार्टी चल्दैन । पार्टीका फस्ट र सेकेन्ड लिडर सरकारमा भएपछि अरू नेताहरूलाई सक्रिय बनाउनुप¥यो ।’

पार्टीका प्रभाशाली नेता वर्षमान पुन र जनार्दन शर्मासहित दोस्रो तहका अधिकांश नेताहरू सरकारमा नजाने भएपछि उनीहरूलाई पार्टीको गतिविधिमा सक्रिय बनाउनुपर्नेमा कार्यकर्ताको जोड छ । पार्टी पदाधिकारी भएका अधिकांश नेताहरू मन्त्री नहुने भएपछि माओवादी केन्द्रले युवा सांसदलाई मन्त्री बनाउने तयारी गरेको छ ।

महासचिव देव गुरुङ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका कारण उहाँ सरकारमा जाने बाटो बन्द भएको छ । त्यसैले, गुरुङ पछिल्लो समय पार्टीका आन्तरिक भेटघाट र छलफलमै केन्द्रित भएको बताइए पनि चलहल पहल न्यून देखिएको युवा नेताहरूले बताएका छन् ।

प्रकाशित : मङ्गलबार, माघ ०३, २०७९०८:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिनभर रुवावासीमै बित्यो, आफन्तलाई शव बुझ्न झनै सास्ती !