शोकमा डुब्यो रुपा गाउँपालिका, गाउँकै गौरव गुमाउनुपर्दा गाउँपालिकावासी मर्माहत !

गण्डकी– पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रुपा गाउँपालिका शोकमा डुबेको छ ।

केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन् ।केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो ।

कमललाई विद्यालयमा प्राथमिक शिक्षा प्रदान गरेका उनका गुरु अग्रज पत्रकारसमेत रहेका बद्रीविनोद प्रतीक आफूलाई आजको दिनमा कमलको दुःखद निधन सुन्नुपर्दा मर्माहत बनाएको बताए ।

कमलले हालको रुपा गाउँपालिका–१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गरेको प्रतीकले बताए । उनले भने, ‘कमल कक्षामा जहिले पनि प्रथम हुन्थे । सानैदेखि मेहनती र अनुशासित थिए । आफूले प्राथमिक शिक्षा प्रदान गरेको एकजना शिष्य र देशकै कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भएको छ ।’

पाइलट बनेपछि समेत केसीसँग पटक पटक भेटघाट हुने गरेको प्रतीकले सुनाए । ‘भेट्दाखेरि जहिले पनि सम्मान र आदर गर्थे । सञ्चो बिसन्चो सोधपुछ गर्ने गर्दथ्यौँ । उनले चलाएको जहाज दुर्घटनामा परेको सुनेदेखि नै दिनभरि कसैसँग बोल्न पनि सकिनँ ।’

उमेरले छ दशक पुगेका केसी अनुभवी पाइलटका रूपमा परिचित थिए । पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण गराएका केसीसँगसँगै यात्रा गरेका पोखरेली पर्यटन व्यवसायी एवं सञ्चारकर्मी यतिखेर झलझली सम्झिएका छन् ।

केसी रुपा गाउँपालिकाबाट पहिलो पाइलट बनेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । ‘उहाँकै प्रेरणाबाट पछि रुपाबाट अरू पनि पाइलट बन्नुभएको छ’, उनले भने, ‘केसीको निधन हाम्रा लागि अपूरणीय क्षति हो ।’

प्रकाशित : आइतबार, माघ ०१, २०७९२१:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमाले पकाएको बटुक र सेलरोटी खान नपाइ अस्ताइन् सिर्जना !