असुरक्षित ‘अफलाइन’ राइड सेयरिङ, जसकारण राइडर देखि यात्रु सम्मले पाउँछन् दुख !

काठमाडौँ- गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

अनुसन्धानपछि ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो । सुरुमा राइड सेयरिङ एपमार्फत् ‘रिक्वेस्ट’ पठाएको तर रद्द गरी ‘अफलाइन’मा यात्रा गरेकाले सम्बन्धित कम्पनीबाट प्राप्त हुने बीमाबाट उनको परिवार वञ्चित भयो ।

त्यति मात्रै होइन, गत जेठ २६ मा जडीबुटीमै मोटरसाइकल र ट्याक्सी एकापसमा जुध्दा मोटरसाइकलमा सवार मेनुका गुरुङ घाइते भइन् । दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार भए । कुनै एक राइड सेयरिङ एपमार्फत् यात्रा गरिरहेकी गुरुङले उजुरी गर्न पाइनन् । किनभने उक्त कम्पनीको नेपालमा न त कम्पनी नै थियो, न त कुनै जिम्मेवार व्यक्त नै थिए ।

त्यसो त एप प्रयोग नगरी राइड सेयरिङ एपका नाममा ‘अफलाइन’ यात्रा गर्ने यात्रु मात्रै होइन, चालक स्वयं पनि पीडित बनेका उदाहरण कैयन् छन् । गत वर्ष माघ ९ गते राति सामाखुसीबाट कोटेश्वरसम्म अनलाइन यात्रा गरेका उनी त्यसपछि धापाखेल पुगेपछि लुटिए । कोटेश्वरसम्म अनलाइनमार्फत् सेवा दिएका चालक प्रवीण राईले त्यसपछि धापाखेलसम्म अफलाइन यात्रा गर्दा यात्रुबाट मोटरसाइकल र रु आठ हजार मात्रै लुटिएनन् मध्यरातमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधिएको अवस्थामा केही घण्टासम्म बस्नुपर्‍यो । अर्को दिन सुमन तामाङ र मीनराज राईले मोटरसाइकल बिक्री गर्दैगर्दा चन्द्रागिरिबाट उनीहरु समातिएका थिए तर चालक प्रवीणले भने कुनै क्षतिपूर्ति पाएनन् । कारण थियो, ‘अफलाइन राइडिङ’ ।

राइड सेयरिङमा अफलाइन यात्रा गर्दा अप्रत्यासित रुपमा घटेका यी केही प्रतिनिधि घटना मात्रै हुन् । यात्रुलाई सहज यातायातको सुविधा दिने उद्देश्यले सुरु भएको राइड सेयरिङको सुविधालाई दुरुपयोग गर्नेको सङ्ख्या बढ्दा यसले आपराधिक क्रियाकलाप बढाउने जोखिम पनि बढेको छ । थोरै भए पनि बढी पैसा कमाउने वा बचाउने लोभमा अफलाइन यात्रा गर्ने यात्रु र चालक दुवैले त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई भने ख्याल नगरेको पाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले अफलाइन राइडिङ गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताए । “अफलाइन राइडिङका कारण हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप रोक्नु हाम्रो कर्तव्य हो”, उनले भने, “अफलाइन राइडिङ गरेको पाइएमा चालकलाई सम्झाउने र यसबारे जानकारी दिँदै सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने प्रयास भइरहेको छ ।”

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले अफलाइन यात्रा गर्दा बढी असुरक्षित हुने हुँदा अनलाइनमै यात्रा गर्न सुझाव दिन्छन् । “पहिलो कुरा त यात्रु र चालक आफैँ सचेत हुनुपर्छ, त्यसबाहेक सम्बन्धित कम्पनीले पनि चालक र यात्रु दुवैलाई जागरुग बनाउनुपर्छ”, उनले भने, “प्रहरीले पनि समुदाय तथा विद्यालयस्तरमा हुने सचेतनामूलक कार्यक्रममार्फत पनि जानकारी गराउँदै आएको छ ।”

उनका अनुसार केही समयअघि मात्रै प्रहरीले एक सय २५ भन्दा बढी राइड सेयरिङ चालकलाई विशेष कक्षासमेत सञ्चालन गरेको थियो । जसमा उनीहरुलाई अफलाइन राइडिङ नगर्न तथा कानुनको पालना गर्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए । “अफलाइन राइडिङ गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ, त्यसैले अफलाइन राइडिङ नगर्न र नगराउन आग्रह गरेका छौँ, यसबाट जोखिम न्यूनीकरण हुने हाम्रो अपेक्षा छ”, उनले भने ।

हाल उपत्यकामा विभिन्न कम्पनीमा आबद्ध करिब डेढ लाख राइडले दैनिकजसो सेवा दिइरहेका छन् । जसमध्ये राइडरले अफलाइन सेवा बढी दिने गरेको पाइन्छ । पठाओ नेपालसँग मात्रै दुई पाङ्ग्रेमा एक लाख ५० हजार र चार पाङ्ग्रेको हकमा करिब सात हजार राइडर दर्ता भएका छन् भने हालसम्म ३५ लाख यात्रु आबद्ध भएका छन् ।

यात्रा सुरक्षित होस् भन्ने उद्देश्यले आफूहरु सधैँभरि चालक र यात्रुलाई सचेत बनाउँदै आए पनि अझै पनि अफलाइनमा चल्ने चालक र यात्रुको कमी नआएको पठाओ नेपाल प्रालिका प्रवक्ता शशांक शमशेर थापाको भनाइ छ । उनले नेपाल प्रहरीले अफलाइन यात्रालाई निरुत्साहित गर्दै कारबाही अघि बढाएको विषय स्वागतयोग्य भएको बताए । “यात्रुलाई अफलाइन जानुपर्ने कुनै बाध्यता नै हुँदैन र पनि अफलाइन गएको भेटेका छौँ”, उनले भने, “अफलाइन जानु भनेको यात्रा असुरक्षित बनाउनु हो भन्ने भुल्नु हुँदैन ।”

पछिल्लो समय विमानस्थल, माइक्रोस्ट्याण्ड, बसपार्क, व्यस्त चोक तथा गल्लीमा अफलाइन यात्रा गर्ने चालक यात्रुसँग मोलमोलाइ गरिरहेको भेट्न सकिन्छ । सीमित कमिसन जोगाउने दाउका साथै थोरै भए पनि अतिरिक्त शुल्क पाउँछु कि भन्ने लोभमा राइडर ग्राहकसँग मोलमोलाइ गरिरहेको दृश्य अचेल सामान्य भइसकेको छ । यात्रुहरु पनि मोबाइलको डाटा खर्चेर अनलाइनका लागि ‘रिक्वेस्ट’ पठाउन र थोरै समय कुर्नुपर्ने सजिलो विधि अपनाउन छाडेर महँगो शुल्क तिरेर असुरक्षित यात्रा गरिरहेको देख्न सकिन्छ ।

अफलाइन यात्रा कतिसम्म असुरक्षित छ भने बढी शुल्क लिनेदेखि यौन दुव्र्यवहारसम्मका घटनामा यात्रुलाई उजुरी गर्न पनि निकै गाह्रो हुन्छ भने दुर्घटना भइहाल्यो भने क्षतिपूर्तिबापत बीमाको सुविधाबाट पनि यात्रु वञ्चित भइन्छ ।

“पठाओको हकमा हामीले यात्रुले यात्रा सुरु गरेदेखि यात्रा नटुङ्गिँदासम्म ‘लाइभ ट्रयाकिङ’ गरिरहेका हुन्छौँ, दुर्घटना भइहाल्यो भने क्युआरटी (क्विक रेस्पोन्स टिम) परिचालन गर्छौं र सेवा उपलब्ध गराउँछौँ”, थापाले भने, “अफलाइनमा भए त्यो सुविधा कम्पनीले उपलब्ध गराउन सक्दैन, कम्पनीलाई त्यसबारे जानकारी नै हुँदैन ।”

उनले सकेसम्म अनलाइन यात्रा गर्नका लागि चालक र यात्रु दुवैलाई समय–समयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको दाबी गरे । “अफलाइनमा यात्रा गर्दा राज्यको राजस्व गुम्छ भने यात्रु र चालक दुवैको ज्यान जोखिममा पर्न सक्छ”, उनले भने, “अफलाइनमा ट्रयाकिङ गर्न पनि नसकिने भएकाले सबैलाई अनलाइन नै यात्रा गर्न आग्रह गर्छु ।”

पठाओ नेपालले त्यसरी अफलाइन गएको भेटिए चालकलाई कारबाही गर्दै आएको थापाले जानकारी दिए । “यदि घटना सामान्य छ भने पहिलो र दोस्रो पटकलाई चेतावनी मात्रै दिन्छौँ भने तेस्रो पटकको हकमा सधैँभरिका लागि कम्पनीबाट हटाउँछौँ”, उनले भने, “तर फैजदारी घटनाको हकमा भने तुरुन्तै कारबाही गर्दै थप कानुनी उपचारका लागि समेत पीडितलाई सहयोग गर्छौं ।”

हाल नेपालमा पठाओ, टुटल, साहरा, इन्ड्राइभर, ट्याक्सीमाण्डु, जायर, साधनलगायतका राइड सेयरिङ एप प्रचलनमा छन् । जसमध्ये इन्ड्राइभर नेपालमा दर्ता बिना नै सञ्चालन भइरहेको छ । पठाओ र टुटललगायतका कम्पनीले बनाएको बजारको केही हिस्सा ओगट्ने उद्देश्यले यतिबेला बिना दर्ता, बिना कमिसनमा राइडर र यात्रुलाई सेवा दिइरहेको देखिन्छ ।

इन्ड्राइभरले केही महिनाअघि विज्ञप्ति जारी गर्दै नेपालमा पनि छिट्टै दर्ता गरी सञ्चालन गर्ने बताएको थियो । कम्पनीकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित्रा नन्दाको भने आफूहरुले यात्रुको बीमा नगराए पनि ‘कस्टमर केयर’बाट भने सेवा दिने दाबी थियो तर हालसम्म कम्पनीले नेपालमा दर्ता भने गराएको छैन ।

इन्ड्राइभरका नन्दाले आफूहरुले बीमाको सुविधा नदिने बताए पनि कानुनमा भने यात्रुको बीमा अनिवार्य गरिएको छ । बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त गर्ने चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार गर्नसक्ने उल्लेख छ ।

प्रकाशित : शुक्रबार, पुष २९, २०७९१६:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्तो रहला आजको मौसम ?