कर्णालीमा एमाले र माओवादी नै आमने-सामने !

सुर्खेत : कर्णालीमा वर्तमान गठबन्धनबाट कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन। राष्ट्रिय राजनीतिमा फेरिएको समीकरणको प्रभाव प्रदेशमा पर्दा एमाले–माओवादीले सरकार बनाउने कुरामा आ–आफ्ना अडान कायम राखेर पार्टी केन्द्रमा लबिङ गरिरहेका छन्।

उनीहरू केन्द्रको निर्देशनको पर्खाइमा छन्। माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले कर्णालीमा प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टी र आफैले गर्ने दाबी गरे। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।

उनले भने, ‘यो प्रदेश माओवादी पार्टीको आधार इलाका हो। यहाँ हामीले नेतृत्व नगरेर अरू कसले गर्छ। यो प्रदेशको नेतृत्व हामीले दाबी गर्नुका धेरै कारणहरू छन्। हामी संसद्मा एमालेभन्दा ठूलो दल हौं। अन्य प्रदेशको तुलनामा यो प्रदेशमा सांगठानिक रूपमा पनि हामी बलिया छौं। एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने कारण के छ ?’ मंसिरको २९ गते नै माओवादीले प्रदेश सरकारको नेतृत्व आफ्नै पार्टीले गर्ने निर्णय गरेर केन्द्रमा पठाइसकेको छ।

सरकारको नेतृत्वलगायतका विषयमा लबिङ गर्न माओवादी केन्द्रकी प्रदेश अध्यक्ष बिमला केसी काठमाडौं छन्। उनीलगायत पार्टीका नेताहरू प्रदेश सरकारको नेतृत्व लिने पहलमा जुटिरहेका छन्।

एमालेबाट प्रदेश संसदीय दलको नेतामा यमलाल कंडेल सर्वसम्मत चयन भइसकेका छन्। उनी अघिल्लो पटक प्रदेशको मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभा सदस्य छाडेर प्रदेशसभा सदस्य निर्वाचन लडेका थिए। पहिलो संसद्मा २० सिट अर्थात् बहुमत हुँदा पनि कांग्रेस, माओवादी गठबन्धन र आफ्नै पार्टीका सांसदहरूले फ्लोर क्रस गर्दा मुख्यमन्त्री बन्ने अवसरबाट वञ्चित भए। ४० सिट रहेको प्रदेशसभामा एमालेका मात्र २० सांसद थिए। कंडेल मुख्यमन्त्री बन्नकै लागि फेरि २०७९ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रदेशसभामै भिडे। कांग्रेस र माओवादीलगायतका पाँच दलको गठबन्धनका बाबजुत पनि उनले सांसद जिते।

एमालेका स्थायी समिति सदस्य गोरख बोगटीले प्रदेश सरकारको नेतृत्व सुरुआतमा एमालेले नै गर्ने दाबी गरे। उनले भने, ‘पहिलो प्रदेशसभामा पार्टीको बहुमत हुँदा पनि विभिन्न कारणले सरकारको नेतृत्व गर्न पाएनौं।

अहिले विगतको परिस्थिति छैन। राष्ट्रिय राजनीतिमा देखिएको प्रभावले पनि कर्णालीमा एमालेले सरकारको नेतृत्व पाउने संकेत गरेको छ। कर्णालीबाट पार्टीका सबै तहका नेताहरूले सामूहिक रूपमा प्रदेश सरकारको नेतृत्व एमालेको भागमा पार्न पार्टी नेतृत्वलाई आग्रह गरेका छौं। पार्टी नेतृत्वले कर्णालीको भावनाको कदर गर्दै सरकारको नेतृत्व आफूले लिनेमा हामी ढुक्क छौं।’

प्रकाशित : बुधबार, पुष २०, २०७९०७:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पार्टीभित्र थप शक्तिशाली बने देउवा, गगनको केहि लागेन !