कम्बोडियामा ज्यान गुमाएका निराकारमा पिता भन्छन् – ‘छोराले देशैलाई रुवाएर गयो’

झापा : शुक्रबार बिहानैदेखि सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश ‘भाइरल’ भयो। उक्त भिडियोमा एक युवक आफू जहाँ गए पनि छोरालाई सधैं माया गर्ने भन्दै असल हुन भनिरहेका थिए। निराश मुद्रामा देखिने ती युवकको पछाडिको दृश्यमा धुवाँको मुस्लो उडिरहेको देखिन्थ्यो। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।

अडेस लागेको भाग कुनै भवनको झ्यालको थियो। उनी छोरालाई भनिरहेका थिए, ‘बाबा अलवेज लभ्स यु। कसैलाई चिट गर्नु हुन्न, फ्रड गर्नुहुन्न। आमा बुवा र ममीलाई माया गर्नु है छोरा।’ भिडियोले छिनभरमै सामाजिक सञ्जाल ढाक्यो। धेरैले भिडियो राखेर लेखेका थिए, ‘हार्दिक श्रद्धाञ्जलि विपिन। तिमी महान् बाबु हौ।’

उक्त भिडियो सन्देश थियो झापा बिर्तामोड– १ अतिथि सदन रोड घर भएका ३९ वर्षीय निराकार पाण्डे (विपिन) को। उनले थाइल्यान्डको सीमा नजिक कम्बोडियाको पोइपोटस्थित ग्रान्ड डायमन्ड सिटी होटलबाट उक्त भिडियो सन्देश पठाएका थिए छोराको लागि। यो सन्देश नै उनको परिवारका लागि अन्तिम सन्देश बन्न पुग्यो।

उनी बसेको होटल र त्यहाँ रहेको क्यासिनोमा आगलागी हुँदा उनी १२औं तलामा फसेका थिए। उद्धार नभएपछि र कुनै उपाय नभएपछि कोठाको झ्यालमा बसेर भिडियो सन्देश पठाएर उनी त्यहाँबाट बच्न सकिन्छ कि भनेर हाम्फालेको बताइएको छ। त्यसै क्रममा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

विपिन बास बसेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति अचानक आगलागी भएपछि पाण्डेले आफू फसेको थाहा पाएका थिए। चारैतिरबाट आगोले घेरेपछि उनी हाम्फालेका थिए। क्षत्विक्षत अवस्थामा उनको शव पहिचान भएको बताइएको छ। विभिन्न देशका चार सयभन्दा बढी नागरिक आगलागीमा फसेका थिए। थाइल्यान्डका धेरै नागरिक उक्त होटल र क्यासिनोमा काम गर्थे।

आगलागीमा फसेकाहरूको लामो समयसम्म उद्धार हुन नसक्दा पाण्डेसहित धेरैले ज्यान गुमाए। गैरआवासीय नेपाली संघ कम्बोडियाका अध्यक्ष लाल खड्काका अनुसार उक्त आगलागीमा शुक्रबार अपराह्नसम्म २६ जनाको मृत्यु भएको छ भने ७३ जना गम्भीर घाइते भएका छन्। होटल र क्यासिनोमा भएको आगलागीमा हाम्फालेर केहीको ज्यान गएको छ। कतिपयको खुट्टा भाँचिएको छ।

‘छोराले देशलाई रुवाएर गयो’ अग्निप्रसाद पाण्डे, बाबु

आफ्ना अगाडि मृत्युबाहेक अरू केही विकल्प नभएपछि मान्छेले बाँच्ने उपाय खोज्दो रहेछ। छोराले होटलबाट हाम्फालेर बाँच्ने उपाय रोज्यो। तर, उसलाई पनि थाहा थियो कि, यति माथिबाट हाम्फाल्दा बाँच्न सकिँदैन भनेर। उसले होटलको १२औं तलाबाट हाम्फालेको देखिन्छ। मेरो छोरोले मृत्यु अगाडि एउटा आँट र साहस देखाएर घरपरिवार र साथीभाइसँग कुरा गरेको छ।

आगोले जलेर खरानी हुनुभन्दा हाम्फालेर मर्दा परिवारले लास हेर्न पाउँछ भन्ने उसको सोच देखियो। मलाई मात्रै होइन छोराले देशलाई रुवाएर गएको छ। उसकी आमा, श्रीमती र परिवारका सदस्यलाई सम्हाल्न गाह्रो छ अहिले। काँबुभन्दाको परिस्थितिमा मान्छेले के गर्न सक्छ र ? उसले जसरी घर परिवारका सदस्य र आफन्तलाई सम्झियो, यो जीवनको अन्तिम क्षणमा ठूलो कुरा रहेछ। भिडियोमा पनि उसले आफ्नो लास जसरी भए पनि घरपरिवारसँग पुर्‍याइदिन अपिल गरेको रहेछ।

प्रकाशित : शनिबार, पुष १६, २०७९०९:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सत्ता गुम्दा कांग्रेसका सबै नेतालाई पिडा ! सबै भन्दा बढी कसलाई ?