काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबा)र मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिए ।
प्रचण्डले साइत हेरेर मात्र बालुवाटार सर्ने कुरामा कुनै सत्यता नरहेको समेत उनले बताए । सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका प्रचण्ड हाल निजी निवास खुमलटारमै बसिरहेका छन् । उनले यसअघि बालुवाटारमा आफ्नो लागि भन्दै कुनै भड्किला सामान नकिन्न समेत निर्देशन दिएका थिए ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छाडेका छन् । उनी बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ नगई धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।
प्रचण्ड निवासबाट बाहिरिए ओली
प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । पार्टी विभाजनपछि ओली पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् ।
भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताए । उनले भने, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन ।’