काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्षले झुक्याएको आरोप लगाएका छन्। मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालले देउवालाई केपी शर्मा ओलीले झुक्याएको आरोप लगाएका हुन्।
सुदूरपश्चिमबाट निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अन्तिम समयमा एमालेले कांग्रेसलाई झड्का दिएको बताए।
नेपालका अनुसार एमालेले अन्तिम बेलासम्म कांग्रेसलाई समर्थन गर्ने बताएको थियो र पछि माओवादी नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो। एमालेकै कारण शेरबहादुर देउवा फसेको उनको भनाई छ।
“‘प्रचण्डजीलाई प्रधानमन्त्री दिन कुनै पनि हालतमा देउवा तयार हुनुभएन। आइतबार केपी ओलीले नै फोन गरेर कुनै पनि हालतमा प्रधानमन्त्री नछोड्नु पनि भनेछन्। देउवाजी मख्ख पर्नुभयो।”,नेपालले भने,”त्यस दिन बिहानै ओलीले देउवाजीलाई फोन गरेर तपाईं प्रधानमन्त्री नछाड्नुस्, हामी तपाईंलाई समर्थन गर्छौँ भनेर भनेका रहेछन्”
देउवा अरुको उक्सवटमा लाग्दा समस्या खडा भएको नेपालले बताए। पुनः प्रधानमन्त्री बन्ने लोभमा पर्दा र एमालेको विश्वास गर्दा प्रचण्डले गठबन्धन छाडेर हिँडे पनि फरक नपर्ने, बरु त्यतिबेला आफूहरुले कांग्रेसलाई समर्थन गर्ने भनेर ओलीले देउवालाई झुक्याइदिएको नेपालले खुलासा गरे।