ज्योतिष शास्त्रका अनुसार यदि कुनै व्यक्तिको कुण्डलीमा मंगल पहिलो, चौथो, सातौँ, आठौँ र १२ औँ घरमा छ भने त्यस व्यक्तिलाई माङ्गलिक दोषको सिकार भएको मानिन्छ । मंगल ग्रहको स्थितिका कारण माङ्गलिक दोष उत्पन्न हुन्छ। जसका कारण व्यक्तिको कुण्डलीमा यस्तो संयोग बन्ने गर्छ कि विवाह प्रस्तावमा मात्रै होइन दाम्पत्य जीवनमा पनि निरन्तर समस्या आउने गर्दछ।
ज्योतिष शास्त्रमा माङ्गलिक व्यक्तिले माङ्गलिकसँग मात्र विवाह गर्ने सल्लाह दिइएको छ। माङ्गलिक व्यक्तिले गैर-माङ्गलिकसँग विवाह गरेमा जीवनमा दुःख र पिडा ल्याउँछ भने कहिलेकाहीँ जीवनसाथीको ज्यानसमेत जान सक्छ। ज्योतिषशास्त्रले २८ वर्षपछि अर्थात् २९औं बर्सपछि कुण्डलीमा रहेको मंगल दोष स्वतः अन्त्य हुने गरेको बताएको छ।
शास्त्रमा मंगल ग्रहलाई क्रोध, बहादुरी र सौभाग्यको कारक मानिन्छ। यदि कसैको कुण्डलीमा मंगल अशुभ हुन्छ भने व्यक्ति क्रोधित, अहङ्कारी र पराक्रमी हुन्छ। यदि त्यस्ता व्यक्तिले गैर-माङ्गलिकसँग विवाह गरे भने, माङ्गलिक व्यक्तिले आफ्नो जोस, क्रोध, पराक्रम र क्रोधले अर्को व्यक्तिलाई दबाउन खोज्छ। यस्तो अवस्थामा विवाह सफल हुन सक्दैन।
माङ्गलिक दोषले व्यक्तिको वैवाहिक कार्यमा बाधा पुग्छ। कुण्डलीको सातौँ घरमा मंगल भएमा विवाहमा बाधा आउने र विवाहपछि पनि समस्या रहन्छ। तर चौथो घरमा भएमा व्यक्तिको विवाह समयभन्दा अगाडि नै हुन्छ। सानै उमेरमा विवाह भयो भने विवाहमा समस्या आउँछ र सफल हुन सक्दैन।
यदि कुण्डलीको आठौँ घरमा मंगल ग्रह अवस्थित छ भने व्यक्तिको जीवनसाथीको ज्यान नै जोखिममा हुने सम्भावना रहन्छ। यही डरले माङ्गलिक व्यक्तिले माङ्गलिक नै जीवनसाथीको खोजी गर्छन्। नकारात्मक पक्षलाई हटाउनको लागि व्यक्तिको पहिले पिपलको रुख, आँक् वा शालिग्रामसँग विवाह गरिन्छ जसले गर्दा मृत्यु तथा अशुभ योग हट्छ।
