प्रचण्डको प्रधानमन्त्री बन्ने सपना चकचुर भएकै हो ?

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री बन्ने सपना पूरा नहुने दाबी गरे। एमालेकै आडमा कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘बार्गेनिङ’ गरिरहेका प्रचण्डको प्रधानमन्त्री बन्ने आकांक्षा ओलीको अभिव्यक्तिसँगै सकिएको हो? राजनीति वृत्तमा शनिबार यही प्रश्नको चर्चा चुलिएको छ। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।

शनिबार अपरान्ह बसेको गठबन्धन बैठकले भने २+२+१ नीति अवलम्बन गर्दै बैठक टुंग्याएको स्रोतको दाबी छ। बैठकले दुई-दुई वर्ष कांग्रेस-माओवादी र एक वर्ष एकीकृत समाजवादीलाई सरकारको नेतृत्व दिनेगरी मोटामोटी सहमति गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन भित्रबाटै सरकार बन्ने दाबी गरे। उनले प्रधानमन्त्रीका लागि हलो नअड्काउने भन्दै भोलिसम्म प्रधानमन्त्रीको टुंगो लाग्ने बताए। तर बालुवाटार स्रोतका अनुसार कांग्रेसकै नेतृत्वमा सरकार बन्नेगरी बैठकले मोटामोटी सहमति भएको छ। केपी ओलीको अभिव्यक्तिले पनि यसलाई पुष्टि गर्छ।

‘गठबन्धन बैठकले सबैले पालो पाउनेगरी मोटामोटी सहमति गरेको छ। बैठकको निष्कर्षले भोलिसम्म निरन्तरता पाए पहिले कांग्रेसकै नेतृत्वमा सरकार बन्छ,’ कांग्रेसका एक नेताले बताए। यद्यपि राष्ट्रपति र सभामुख कांग्रेसले राखेर प्रधानमन्त्रीमा प्रचण्डलाई नै अगाडि बढाउने विषयमा पनि छलफल भएको स्रोतको दाबी छ।

शनिबार दिउँसो प्रधानमन्त्री देउवा र माओवादी उपमहासचिव वर्षमान पुनबीचको भेटवार्तामा विवाद उत्पन्न भएको छ। प्रचण्डलाई प्रधानमन्त्री नदिएको भन्दै वर्षमानले देउवालाई माओवादीले गठबन्धन छोडेको निर्णय सुनाएका थिए।

माओवादी नेता पुनलाई प्रधानमन्त्री देउवाले त्यसो नगर्न आग्रह गरेका थिए। उनले माधव नेपाललाई समेत उचित भूमिका दिएर लैजानुपर्ने बताएका थिए। ‘त्यसो भनेर हुँदैन। गठबन्धनलाई जीवन्त बनाउन आबद्ध सबै दलहरूले ठूलो भूमिका निर्वाह गरेका छन्। माधव कुमार नेपालजीको भूमिका पनि उतिकै महत्पूर्ण छ। बरु मलाई समय दिनुस्, म जसरी पनि मिलाउँछु,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रकाशित : आइतबार, पुष १०, २०७९०८:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१८ मन्त्रालय प्रचण्डको हातमा ! कुन-कुन ?