देउवा र प्रचण्डबीच जुटेन सहमति, एकअर्कालाई दिन थाले एउटै ‘घुर्की’ !

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिएकी छन्। तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शुक्रबार साँझसम्म सहमति जुटेको छैन। यो समाचार अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ।

सत्ता गठबन्धनका पाँच दलले गठबन्धनकै दलहरू मिलेर सरकार बनाउने बताउँदै आएका छन्। तर कसको नेतृत्व भने टुंग्याएका छैनन्। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच को प्रधानमन्त्री बन्ने रस्साकस्सी छ। सहमति नजुटे ‘साथ छोड्ने’ र अर्को गठबन्धन बन्न सक्ने ‘घुर्की’ पनि एकले अर्कोलाई दिइरहेका छन्।

चुनावपछिको सरकारको नेतृत्व आफूलाई दिने ‘पूर्वसहमति’ पालना गर्नुपर्ने प्रचण्डको अडान छ। यता कांग्रेस भने चुनावमा पहिलो पार्टी बनेकाले सरकारको पहिलो नेतृत्व कांग्रेसले गर्नुपर्ने अडानमा यथावत् छ। पहिलो दुई वर्ष देउवा र त्यसपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने ‘कार्ड’ कांग्रेसले खेलिरहेको छ। तर प्रचण्ड भने कुनै हालतमा पनि आफू पहिलो दुई वर्ष प्रधानमन्त्री बन्नैपर्ने अडान राखिरहेका छन्।

माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार दिनभर पनि प्रधानमन्त्रीका लागि दौडधुप र भेटघाटमा लागे। प्रचण्ड दिनभरजसो कांग्रेसका नेतासँग अनौपचारिक बार्गेनिङ गरेका थिए। कांग्रेसले स्वीकार नगरे एमालेसँग मिलेर आफू प्रधानमन्त्री बन्ने ‘घुर्की’पनि प्रचण्डले दिइरहेका छन्। राष्ट्रपति, सभामुखलगायतमा सम्झौता गरेर भए पनि प्रचण्ड तत्काल नै प्रधानमन्त्री हुन चाहेको नेताहरू बताउँछन्।

सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको र चुनावमा पहिलो पार्टी बनेकाले आफू प्रधानमन्त्री बन्नुपर्ने तर्क देउवाले गर्दै आएका छन्। कांग्रेसले माओवादीलाई सभामुख, उपराष्ट्रपति तथा केही मुख्यमन्त्रीको प्रस्ताव गरेको छ। शुक्रबार साँझ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा पनि प्रचण्ड आफ्नो अडानबाट टसमस नभएको नेताहरू बताउँछन्।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित बिहीबार भएको भेटवार्तामा पनि प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेका थिए। शुक्रबार बिहानै प्रचण्डलाई भेट्न कांग्रेस नेता प्रकाशमान सिंह खुमलटार पुगेका थिए। सिंहले प्रचण्डलाई पहिलो चरणमा देउवालाई नै प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए।

प्रकाशित : शनिबार, पुष ०९, २०७९०८:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बढ्यो प्रचण्डको ‘बार्गिनङ शक्ति’, कारण भने यस्तो !