जेलबाट छुट्दा सरप्राइज भए शोभराज, बाँकी जीवन न्यायिक लडाइँमा बिताउने घोषणा !

काठमाडौँ – ‘बिकिनी किलर’का नामले विश्वभर चर्चित चार्ल्स शोभराजले आफ्नो बाँकी जीवन न्यायिक लडाइँमा बिताउने घोषणा गरेका छन्। सर्वोच्च अदालतको आदेशपछि शुक्रबार जेलमुक्त भई स्वदेश (फ्रान्स) फर्किने क्रममा शोभराजले आफूलाई कानुनी सहायता गरेका वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटी ‘चिन्तन’सँग यस्तो बताएका हुन्। शिवाकोटीका अनुसार शोभराजले आफूविरुद्ध विश्वका विभिन्न देशका सञ्चारमाध्यमले झुटो र अफवाहपूर्ण समाचार प्रकाशन गरेर अतिरञ्जना गरेको टिप्पणी गरेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

‘अदालतको फैसलापछि म उनीसँग चार–पाँच घन्टाजति बसेको छु। यसबीच तमाम कुराकानी भयोे,’ नागरिकसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता शिवाकोटीले भने, ‘उनले बिबिसी, सिएनएन, नेटफ्लिक्सलगायत सञ्चार माध्यमले पैसा कमाउने उद्देश्यले आफूविरुद्ध अतिरञ्जित हुनेगरी सामग्री प्रकाशन/प्रसारण गरेकोमा चित्त दुखाएका रहेछन्। ती संस्थाविरुद्ध बाँकी जीवन न्यायिक लडाइँ लड्छु भनेका छन्।’ शोभराजले त्यसका लागि उत्कृष्ट कानुन व्यवसायीको समूह चाहिने बताएको शिवाकोटी बताउँछन्।

उनी भन्छन्, ‘मैले गरेको कानुनी सहायताले खुसी भएको बताउँदै उनले त्यसमा मलाई पनि राखेर काम गर्ने भनेका छन्।’ शिवाकोटीका अनुसार शोभराजलाई नेपालको कारागारबाट यति सजिलै छुट्नेमा विश्वासै थिएन। ‘शोभराजले जेलबाट छुट्दा सरप्राइज महसुस गरेको मैले पाएँ। त्यसका लागि सबै कानुन व्यवसायी, अदालत सबैलाई धन्यवाद भनेका छन्,’ शिवाकोटी भन्छन्, ‘नेपाली सञ्चारमाध्यमले पनि आफूबारे नराम्रो नलेखेको भन्दै उनले खुसी व्यक्त गरेका छन्।’

फास्ट ट्र्याकबाट डिपोर्ट

सरकारले अदालतको फैसलाको कार्यान्वयन शुक्रबार एकै दिन फटाफट गरेको छ। केन्द्रीय कारागारले सम्पूर्ण प्रक्रिया पूरा गरेर शुक्रबार दिउँसो अध्यागमन विभागलाई बुझाएको थियो। त्यसपछि अध्यागमनले फटाफट आफूसँग बाँकी रहेको ५० हजार रूपैयाँ जरिवाना असुल गरेर डिपोर्ट (निर्वासन) को प्रक्रिया पूरा गर्दै साँझ फ्रान्स नै पठाइदिएको छ।

‘हामीले शोभराजको भिसामा रहेको अनियमितताको ५० हजार रूपैयाँ जरिवाना असुल गर्‍यौं। त्यसपछि फ्रान्सेली दूतावाससँग कन्ट्याक्ट गरेर टिकेटिङ प्रक्रिया पूरा गर्‍यौं। गृह मन्त्रालयबाट पनि फटाफट स्वीकृत भयो,’ विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले नागरिकसँग भनिन्, ‘यसरी अध्यागमन ऐनअनुसार १० वर्षसम्म नेपाल आउन नपाउने गरी शुक्रबारै डिपोर्ट गरेका छौं।’

शोभराज शुक्रबार साँझ ६ बजेको कतार एयरवेज विमानबाट पेरिसका लागि उडेका छन्। उनी शनिबार बिहान करिब ६ बजे पेरिस पुग्नेछन्। ‘शोभराज शुक्रबारै स्वदेश फर्कन चाहन्थे। कारागार प्रशासन र अध्यागमन विभागले पनि शीघ्रताका साथ काम गर्‍यो। मैले न्यानो लुगा, जुत्ताको व्यवस्था गरिदिएँ। खल्तीमा ६ सय डलर पनि हालिदिएँ,’ वरिष्ठ अधिवक्ता शिवाकोटीले भने, ‘त्यसपछि एयरपोर्टसम्म पुगेर बिदाइ गर्‍यौं। खुसी हुँदै गए।’

प्रकाशित : शनिबार, पुष ०९, २०७९०८:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाल विरुद्ध मुद्दा हाल्ने योजनामा शोभराज !