काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । यससँगै देउवालाई पुनः कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने अवसर प्राप्त भएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
कांग्रेस विधानमा ‘दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने’ व्यवस्था छ । दलको नेता चयन प्रक्रियाका लागि बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा ६४ मत ल्याउँदै निर्वाचित भएका हुन् ।
संस्थापनइतर समूहबाट उम्मेदवार बनेका कांग्रेस महामन्त्री गगनकुमार थापा भने २५ मत प्राप्त गर्दै पराजित भए । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका थिए । उनीहरू नै संसदीय दलको निर्वाचनमा मतदाता थिए ।
देउवा यसअघि २०७४ मा समेत कांग्रेस संसदीय दलको नेतामा निर्वाचित बनेका थिए । त्यसबखत उनका प्रतिस्पर्धी नेता प्रकाशमान सिंह थिए । यसपटक भने सिंहसहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललेसमेत देउवालाई नै दलको नेतामा सहयोग गरेका हुन् । पौडेल यसपटक देउवालाई दलको नेता बनाउन प्रस्तावक आफैं बनेका थिए ।
यसैगरी, देउवालाई पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समेत साथ दिएका थिए ।महामन्त्री थापालाई भने दलको नेताका लागि भएको निर्वाचनमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, १४औं महाधिवेशनमा देउवासँग सभापतिको प्रतिस्पर्धामा रहेका डा. शेखर कोइराला र त्यसबखत देउवा समूहबाटै महामन्त्री उम्मेदवार प्रदीप पौडेलले थापालाई साथ दिएका थिए ।