काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माणको ‘अनुचित खेल’ मा आफ्नो पार्टी सहभागी नहुने बताएका छन्। सरकार निर्माणका लागि रस्साकस्सी चलिरहेका बेला एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा प्रशिक्षण कार्यक्रममा ओलीले भने, ‘एमाले राजनीतिक स्थिरताको पक्षमा छ। एमालेलाई राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको चिन्ता छ, जनताको भविष्यको चिन्ता छ, गन्तव्यको चिन्ता छ, सत्ता मोलमोलाइको होइन। त्यसैले एमाले सरकार बनाउने अनुचित लेनदेन, भागबन्डा र सेटिङमा सहभागी हुँदैन।’
ओलीले अनुशासनहीनहरूको बोलवाला बढ्न थालेकाले यसबाट मुलुक अस्थिरतातर्फ धकेलिन सक्ने बताए। ‘मुलुकमा राजनीतिक अस्थिरता बढेको छ, अनुशासनहीनता बढेको छ, सामाजिक अवस्था खलबलिएको छ। मुलुकको अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ,’ ओलीले भने। एमाले देशमा सबैभन्दा बढी जनताबाट रुचाइएकाले सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित भएको उनले बताए।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएको छ। ओलीले प्रत्यक्ष निर्वाचनतर्फ सत्तापक्षले राज्यसत्ताको दुरूपयोग गरेर, संवैधानिक अंगहरूको दुरूपयोग गरेर एमालेलाई हराएको, पहिलो पार्टी हुन नदिएको दाबी गरे। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
ओलीले निर्वाचनमा निर्वाचन आयोगले समेत निष्पक्ष र प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि पोखे। उनले मरेका र विदेश गएकाका नाममा मत खसेका केन्द्रमा निर्वाचन आयोगले पुनः निर्वाचन नगराएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको आरोप लगाए। ‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरूको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन। त्यस्ता निकायले कानुनसम्मत र कर्तव्यनिष्ठ भूमिका पूरा गरे भन्ने अवस्था रहेन। धाँधली भएका ठाउँमा दोहोर्याएर निर्वाचन गरिएन। धाँधली भएको देख्नुपर्ने ठाउँबाट देखिएन, नदेखैझैं गरियो। यो वास्तवमै दुःखद पक्ष हो,’ ओलीले भने।
ओलीले आगामी निर्वाचनमा पनि अलोकतान्त्रिक, अवाञ्छित, गैरकानुनी क्रियाकलापलाई रोक्न सकिएन भने लोकतन्त्रको अर्थ नहुने बताए।
‘बुथ कब्जा नै गर्ने हो भने लोकतान्त्रिक अभ्यास र निर्वाचन भन्ने कुराको के अर्थ हुन्छ? त्यसकारण यस्ता क्रियाकलाप रोक्न हामी सजग हुनुपर्छ। निर्वाचनमा गलत क्रियाक्रलाप रोक्न सकिएन भने लोकतान्त्रिक अभ्यासप्रति जनताको वितृष्णा बढ्दै जान्छ, विस्तारै प्रणालीप्रति नै जनताको विश्वास कमजोर हुँदै जान्छ,’ ओलीले भने।
ओलीले पार्टी, पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशनअनुसार चल्न, संसद्भित्र र बाहिर सच्चा जनप्रतिनिधिको भूमिका निर्वाह गर्न तथा वैचारिक रूपमा स्पष्ट र योजनाबद्ध ढंगले प्रस्तुत हुन नवनिर्वाचित सांसदहरूलाई निर्देश गरे। एमालेले देश र जनताको हितबाहेक अरू केही पनि नहेर्ने भएकाले सांसदहरूले पनि पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशनलाई दृढताका साथ पालना गर्नुपर्ने ओलीको भनाइ थियो। ‘देश बर्बादीतर्फ गइरहेको छ। यस्तो अवस्थामा हामी नयाँ संकल्पसहित अगाडि बढनु छ। पार्टीबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सबैले आफूलाई सच्चा जनप्रतिनिधिका रूपमा प्रस्तुत गर्नुपर्छ। त्यसका लागि म हाम्रा सम्पूर्ण साथीलाई अध्ययनशील हुन, योजनाबद्ध ढंगले काम गर्न, दृढता र स्पष्टताका साथ प्रस्तुत हुन, पार्टीको निर्णय, अनुशासन, आदेश र निर्देशअनुसार चल्न आग्रह गर्दछु,’ ओलीले भने।