एकअर्का विरुद्ध मैदानमा उत्रिए कांग्रेस र माओवादी, एमाले देखाएर तर्साउने खेल सुरु !

काठमाडौं । बिहीबार निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । योसँगै अब सरकार गठनको बाटो खुलेको छ । यद्यपि, सरकार गठनका लागि गठबन्धनका दलहरूबीच रस्साकस्सी त छदैं छ, गठबन्धनको मुख्य दल कांग्रेसभित्रै पनि एकभन्दा बढी प्रधानमन्त्रीको आकाँक्षी देखिएपछि खेल रोचक बनेको छ । कसको नेतृत्वमा सरकार बनाउने भन्ने सहमति दलहरुबीच जुट्न सकेको छैन । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

बरु सत्ता गठबन्धनबाटै आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास सहज रुपमा सफल हुन नसकेपछि नेपाली कांग्रेस र नेकपा माओवादी दुवै दल एमालेलाई देखाएर वार्गेनिङ पावर बढाइरहेका छन् । यसका लागि दुवैले एमालेसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।

गठबन्धनबीच प्याकेजमा सहमति नहुँदा एमालेसँग मिलेर सरकार बनाउने वैकल्पिक पथमा दुवै पार्टीले सक्रियता बढाएका हुन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आउन सकेन । जसकारण कुनै एउटा मात्रै दलले नेपालको संविधानको धारा ७६(१) बमोजिम सरकार गठन गर्ने सम्भावना देखिँदैन । चुनावी परिणाम सार्वजनिक भइनसक्दै सत्ता गठबन्धनको बैठकले गठबन्धनकै सरकार बनाउने निर्णय गरेको थियो । संसद्मा कांग्रेसका ८९ र माओवादीका ३२ मात्रै सांसद भएकाले अन्य दलको समर्थनमा कांग्रेसलाई सरकार बनाउन सहज छ ।

तर, माओवादीले नेतृत्वमा दावी कायम राखेकाले कांग्रेस झस्केको छ । जसकारण गठबन्धनभित्रै शीतयुद्धको अवस्था देखिएको छ । जसको परिणामस्वरुप ७८ सिट भएको एमालेलाई देखाएर एकअर्कालाई झुकाउन दुवै दलले अधिकतम् प्रयास गरिरहेका छन् ।

एकअर्काबाट आफूलाई सहयोग हुन नसक्ने अवस्था आएमा ७८ सिटको एमालेसँग मिलेर सरकार बनाउन सक्ने विकल्प दुवैले खुला गरेका छन् ।माओवादी स्रोतका अनुसार कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा आफ्नो दाबी गरेको छ । दुई वर्षपछि प्रधानमन्त्री माओवादीलाई दिनेगरी कांग्रेसले प्रस्ताव अघि सारेकोमा माओवादीको दाबी भने पहिले आफ्नो नेतृत्व भनेको छ । जसकारण वैकल्पिक छलफलको बाटो पनि खुला राखिएको स्रोतले बतायो ।स्रोतका अनुसार सरकार गठनका सम्बन्धनमा एमालेसँग छलफल भइरहेको छ तर सहमति भने जुटिसकेको छैन । ‘वाम गठबन्धनका पक्षमा दुवै दलका धेरै नेताहरु सकारात्मक हुनुहुन्छ, त्यसैले एमालेको समर्थनमा सरकार बनाउने सम्भावना नै नभएको भन्ने होइन,’ माओवादीका एक नेताले भने ।

माओवादीकै अन्य कतिपय नेताहरू भने बाम गठबन्धनका विषयमा छलफल भएको अस्वीकार गर्दछन् । तर प्राप्त उपलब्धीहरु र संविधानको रक्षाका लागि सरकारको नेतृत्व माओवादीले लिनुपर्नेमा उनीहरूबीच एकमत छ ।माओवादीसँग सरकार गठनका लागि बलियो जनाधार छैन । सरकार गठन गर्नेगरी माओवादीलाई जनमत प्राप्त नभएको भन्ने धारणामा उनीहरू सहमतिका आधारमा अघि बढ्ने बताउँछन् । यद्यपी, पार्टीभित्र सरकार गठनका सम्बन्धमा औपचारिक निर्णय भइनसकेको श्रोतले बताएको छ ।

यता कांग्रेसले पनि एमालेसँग छलफल जारी नै राखेको छ । प्रधानमन्त्रीको दौडमा कांग्रेसबाट शेरबहादुर देउवासँगै रामचन्द्र पौडेल, गगनकुमार थापा, प्रकाशमान सिंह र शशांक कोइराला छन् । प्रधानमन्त्रीको आकांक्षा राखे पनि प्रकाशमान देउवालाई समर्थन गर्न तयार हुने आँकलन गरिएको छ । यता, पौडेल राष्ट्रपति पाए प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने लाइनमा रहेको बताइन्छ् ।

सरकार गठनमा एक सिट पनि महत्वपूर्ण ठानेका देउवा भने बाहिरबाट राष्ट्रपति ल्याउने मुडमा छन् । बुधबारमात्रै देउवाले आफ्नो निवास बालुवाटारमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीसँग छलफल गरेका थिए । करिब डेढ घण्टा भएको उक्त छलफलमा रेग्मीलाई राष्ट्रप्रमुख बनाउने विषयमा छलफल भएको हल्ला चले पनि देउवा निकट श्रोतले यसलाई अस्वीकार गरेको छ ।

देउवा– रेग्मी भेटले गठबन्धनभित्र गठबन्धनका दलहरू भने झस्किएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन गरी राष्ट्रपति संसद् बाहिरबाटै ल्याउने अडानमा देउवा भएको उनी निकट श्रोतले बतायो । खिलराजसँग छलफल भए पनि आफ्नो नेतृत्वमा सरकार गठन गरी माओवादीबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई राष्ट्रपति दिन सक्ने सम्भावना पनि रहेको कांग्रेसका अर्का एक नेताले बताउँछन् ।

प्रकाशित : शुक्रबार, पुष ०१, २०७९०९:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पराल नै सिरक–डसना: दुई दिनदेखि चलिरहेको छ शीतलहरको सिरेटो, शरीरसँगै कामिरहेको छ मन !