काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थान सल्लाफेदमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एकै परिवारका आठ जनाको मृत्युपछि गाउँ नै शोकमा डुबेको छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।
बेथानचोक गाउँपालिका–५, च्याल्टीमा मामा बनेर व्रतबन्ध (छेवर)मा गएका बनेपा नगरपालिका–११, सल्लेका एउटै परिवारभित्रका आठ जनाको मृत्यु भएको हो । दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा बनेपा नगरपालिका–११ का एकै परिवारका आठ जनाको मृत्यु भएको थियो ।
बनेपा नगरपालिका–११ का वडाध्यक्ष शिवकुमार थापाले वडाभित्रका एउटै परिवारका आठ सदस्यको मृत्यु भएपछि वडा शोकमा डुबेको बताउनुभयो । “मङ्गलबार अकल्पनीय दुर्घटना भयो, उक्त दुर्घटनामा हाम्रो वडाको एउटै परिवारका आठ जनाको मृत्यु भयो, हामी वडावासी शोकको घडीमा छौँ,” अध्यक्ष थापाले भन्नुभयो ।
दुर्घटनामा निर्मलासहित २८ वर्षीया कोपिला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ११ वर्षीय पुष्कर तामाङ, २८ वर्षीया मञ्जु तामाङ, ४३ वर्षीया हेमा तामाङ, ५० वर्षीय आकुर तामाङ र ३० वर्षीय बुद्ध तामाङको मृत्यु भएको छ । थापाले एकै परिवारका सदस्यको मृत्यु भएकाले शवको पोस्टमार्टम भए पनि परिवारका केही सदस्य विदेशमा रहेकाले उहाँहरू नआएसम्मे दाहसंस्कार नगरिने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दुर्घटनामा एउटै परिवारका आठ र अन्य नौ जनासहित १७ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा जिल्लाको तेमाल गाउँपालिका–८ की २९ वर्षीया टीकालक्ष्मी तामाङ, उहाँका नौ वर्षीय छोरा गुरु मणिदास तामाङ, ललितपुर जिल्ला महाँकाल गाउँपालिका–६ का बसचालक सन्तोष भन्ने तेजप्रसाद तिमल्सिना, बेथानचोक गाउँपालिका–४ का १९ वर्षीय रविन तामाङ, मकवानपुर इन्द्रसरोवर गाउँपालिका–१ की ६ वर्षीया समीक्षा थिङको मृत्यु भएको छ ।
दुर्घटनामा जिल्लाको मण्डनदेउपुर नगरपालिका–१ की ४१ वर्षीया चेलीमाया तामाङ, बनेपा नगरपालिका–१४ का रामकुमार तामाङ, बनेपा नगरपालिका–१४ की २८ वर्षीया गीता श्रेष्ठ र बेथानचोक गाउँपालिका–५ की २४ वर्षीया मञ्जु तामाङको सनाखत भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा २२ जना घाइते भएकोमा एक जना उपचारपछि डिस्चार्ज भएको र अन्य २१ मध्ये धुलिखेल अस्पतालमा नौ, शिर मेमोरियल अस्पतालमा सात र काठमाडौँ र भक्तपुरका अस्पतालमा पाँच जनाको उपचार भइरहेको जनाएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दुर्घटनामा मृत्यु भएकामध्ये नौ मृतकका परिवारलाई बुधबार नै शव बुझाइएको बताउनुभयो ।
उहाँले बुधबार नै जनप्रतिनिधि, प्रशासन र पीडित परिवार र यातायात व्यवसायीबीच भएको छलफलमा दुर्घटनाका घाइतेको उपचार, मृतकको परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन आआफ्नो ठाउँबाट सहयोग गर्ने निर्णय भएको बताउनुभयो ।