राष्ट्रपति बन्ने दौडमा छन् गठबन्धनका धेरै नेता, महरा पनि लाइनमा !

काठमाडौँ — निर्वाचनमा कुनै पनि गठबन्धनको सुविधाजनक बहुमत नआएको अवस्थामा भावी राष्ट्रपतिका लागि नेताहरूको दौडधुप चलिरहेको छ । सत्ता गठबन्धन नै बहुमतको नजिक रहेकाले राष्ट्रपतिका आकांक्षी नेता आ–आफ्नो पार्टी र गठबन्धनभित्र अनुकूलता जुटाउने गृहकार्यमा छन् । राष्ट्रपति कुन पार्टीका तर्फबाट हुने भन्ने टुंगो भने लागिसकेको छैन । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

कांग्रेसभित्र प्रधानमन्त्रीको दाबी पेस गरेका धेरैजसो नेताले विकल्पमा राष्ट्रपति बन्ने चाहना राखेका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । नेताहरूका अनुसार आन्तरिक ‘पावर सेयरिङ’ गर्दा आफूले राष्ट्रपति पाए प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न पौडेल तयार छन् । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘प्रधानमन्त्रीका आकांक्षीमध्ये देउवा र थापाबाहेक अन्य नेता शीतलनिवास प्रवेशका लागि सम्झौता गर्न तयार देखिनुहुन्छ ।’

माओवादीमा पनि राष्ट्रपतिका आकांक्षी धेरै छन् । माओवादीले राष्ट्रपति पाए आफूले जिम्मेवारी लिने इच्छा उपराष्ट्रपति नन्दबहादुर पुन तथा पूर्वसभामुखद्वय अग्नि सापकोटा र कृष्णबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल दाहालसमक्ष पेस गरेको स्रोतको भनाइ छ । दाहालले भने जस्तोसुकै संसदीय अंकगणित भए पनि माओवादीकै नेतृत्वमा सरकार गठनलाई प्राथमिकता दिएका छन् । स्रोतका अनुसार आफ्नो निर्वाचन क्षेत्र छाडेर सहयोग गरेकामा दाहाल बाबुराम भट्टराईप्रति नरम छन् । तर माओवादीको कोटामा राष्ट्रपति आए ‘तपाईं नै हो’ भनेर आश्वस्त पारेका छैनन् ।

प्रतिनिधिसभा विघटनदेखि पुनःस्थापना र एमसीसीलगायतका राष्ट्रिय सरोकारका मुद्दामा सकारात्मक भूमिका निर्वाह गरेको भन्दै दाहाल पूर्वसभामुख सापकोटाप्रति पनि उदार छन् । दाहाल र सापकोटाबीच सम्भावित राजनीतिक समीकरण र भूमिकाबारे लगातार संवाद भइरहेको छ । केही दिन अगाडि सिन्धुपाल्चोकको सुकुटेमा दाहाल र सापकोटा सँगै थिए ।

अर्कातर्फ दुई पटक उपराष्ट्रपति भएको र माओवादीबाट राष्ट्रपति बन्ने अवसर आए आफू स्वाभाविक दाबेदार रहने पुनको भनाइ छ । पदमै रहेकाले उनको देखिने दौडधुप छैन तर पार्टी नेतामार्फत सन्देश दाहालकहाँ पुर्‍याएका छन् । यसबाहेक आफूलाई ‘अन्यायपूर्ण’ तरिकाले हटाइएको, चुनावमा टिकट नदिइएको र समानुपातिकमा पनि नराखिएको भन्दै महराले पनि राष्ट्रपतिमा आकांक्षा देखाएका छन् । ‘महराजी पनि दौडमै देख्छु,’ माओवादीका एक पदाधिकारीले भने ।

सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि राष्ट्रपतिका लागि चर्चामा छन् । नेपाल आफैंले यस्तो दाबी नगरे पनि सबैको स्वीकार्यताका लागि एउटा विकल्पमा आफूलाई अगाडि सारेको गठबन्धनका एक शीर्ष नेताले बताए ।

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नपुर्‍याएपछि एकीकृत समाजवादी राष्ट्रिय दल बनेको छैन, जसले नेपालमाथि दबाब बढेको छ । १० सिटमा सीमित भएका कारण एकीकृत समाजवादीको राजनीतिक दाबी कमजोर भएको छ । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टी राजनीतिमा सीमित पूर्वप्रधानमन्त्री खनालले पनि राष्ट्रपतिको इच्छा व्यक्त गरेका छन् । स्रोतका अनुसार कांग्रेस र माओवादीबीच शक्ति बाँडफाँटमा तनाव हुँदा मध्यमार्गी विकल्पमा नेपाल वा खनाल राष्ट्रपति हुन सक्ने एकीकृत समाजवादीका नेताहरूको बुझाइ छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर २७, २०७९०८:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लामिछानेको शपथ रोक्न सर्वोच्चमा रिट