प्रधानमन्त्रीमा गगनको दाबेदारी, तर संसदीय बहुमत भने देउवाको ! कसको समर्थनमा कति सांसद ?

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी सकारको नेतृत्व युवा पुस्तामा जानुपर्ने आवाज उठिरहेको बेला पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलमा बहुमत जुटाउन लाग्नुभएको छ । निर्वाचनका सबै परिणाम सार्वजनिक भएको ३० दिनभित्र नयाँ सरकार गठन गर्नुपर्ने व्यवस्थाअनुसार आगामी सरकारको नेतृत्वका लागि देउवा आफ्नो पक्षमा माहोल बनाउन लाग्नुभएको हो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

कांग्रेसमा प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता चयन गर्नुपर्ने वैधानिक व्यवस्था छ । पार्टीलाई पुनर्जागरण गराउन र जनभावनाको प्रतिनिधित्व गर्न संसदीय दलको नेतामा नयाँ पुस्तालाई पालो दिनुपर्ने आम जनआवाज उठिरहे पनि देउवाले पुनः आफंैलाई संसदीय दलको नेतामा अघि सार्दै शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत नेताहरूलाई सहयोग गर्न आग्रह गरिसक्नुभएको छ । संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको महामन्त्री गगनकुमार थापा अहिले अल्पमतमा हुनुहुन्छ ।

गत निर्वाचनको टिकट वितरणमै देउवाले आफ्नो पक्षमा स्पष्ट बहुमत पुग्ने गरी टिकट वितरण गर्नुभएको थियो भने समानुपातिक प्रणालीको बन्द सूचीको अग्रभागमा समेत आफ्नो पक्षमा दुई तिहाइ बहुमत पुग्नेगरी सूचीकरण गर्नुभएको थियो । त्यसबेला संस्थापनइतर समूहले एक साता आन्दोलन नै गरेर आफ्नो पक्षका केही नेताहरूलाई प्रवेश गराए पनि उक्त समूह संसद्मा अल्पमतमै छ । उसो त संसदीय दलको चुनाव लड्ने तयारी गरेका महामन्त्री थापालाई पनि टिकट वितरणमा युवा पुस्तालाई ल्याउने गरी पार्टीमा हस्तक्षेपकारी भूमिका खेल्न नसकेको आरोप लाग्ने गरेको छ ।

संस्थापन पक्षका सांसदहरू

नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचित ५७ सांसदमध्ये ३३ जना संस्थापन पक्षका छन् । जसमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर, डा. नारायण खड्का, मोहनबहादुर बस्नेत छन् । यो समूहमा किशोरसिंह राठौर, श्यामकुमार घिमिरे, शंकर भण्डारी, रामहरि खतिवडा, डिल्लीराज पन्त, पुष्पबहादुर शाह, सीता गुरुङ, दिपक खड्का, अजयकुमार चौरसिया, रमेश रिजाल, महेन्द्रकुमार राय, दिनेशकुमार यादव, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री, मोहन आचार्य, पूर्णबहादुर तामाङ, उदयशमशेर जबरा, विष्णुकुमार कार्की, टेकबहादुर गुरुङ, खमबहादुर गर्बुजा, विनोदकुमार चौधरी, ऐनबहादुर शाही ठकुरी, तेजुलाल चौधरी र देवप्रसाद तिमल्सिना रहनुभएका छन् ।

त्यस्तै, पार्टीले बुझाएको बन्दसूचीअनुसार सभापति देउवा पक्षका २४ जना र इतर पक्षका ८ जना मात्र सांसद हुनेछन् । देउवा समूहबाट सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, शान्ति विक, रुपा विक, आशा विक, विष्णुमाया परियार, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, निनुकुमारी मण्डल, जावेदा खातुन जागा, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि रहनुभएका छन् ।

इतर समूहका सांसदहरू

इतर समूहबाट १८ जना सांसद निर्वाचित भइसकेका छन् । जसमा डा. शेखर कोइराला, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, धनराज गुरुङ, बद्री पाण्डे, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारी, डिगबहादुर लिम्बू, सुनिलकुमार शर्मा, रामकृष्ण यादव, रामनाथ अधिकारी, राजेन्द्र बजगाईं, योगेश गौचन थकाली, राजु थापा, सुरेन्द्रराज आचार्य, दिपक गिरी, सञ्जयकुमार गौतम, दिक्पालकुमार शाही र हृदयराम थानी हुनुहुन्छ । यो समूहबाट समानुपातिक सांसद बन्नेहरूमा सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, सीता मिजार, मुक्तकुमारी यादव, विनाकुमारी थनेत, कुसुम थापामगर र जीवन परियार छन् ।

रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह आफंै पहिलो हुन लागेपछि उहाँहरूका पछि को को सांसद लाग्छन् भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन । प्रदीप पौडेलले परिवर्तनका पक्षमा लाग्ने बताए पनि उहाँले थापालाई सहयोग गरिहाल्ने अवस्था देखिँदैन ।

प्रकाशित : शुक्रबार, मङि्सर २३, २०७९०८:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रधानमन्त्री बन्ने दौडमा गगन, ‘डोर टु डोर’ भेटघाट तिब्र !